भारतीय पत्रकार जुबेर पक्राउ

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

दिल्लीको एक अदालतले मुस्लिम पत्रकार मोहम्मद जुवेरलाई सन् २०१८ को एउटा ट्विटर केसमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार जुबेरले सामाजिक सञ्जालमार्फत हिन्दू धार्मिक आस्थाको अपमान गरेको आरोपमा आइतबार राति पक्राउ परेका हुन् ।

जुबेर फ्याक्ट–चेक गर्ने समाचार संस्था ‘अल्ट न्युज’का सहसंस्थापक हुन् । उनलाई भारतीय दण्डसंहिताको धार्मिक सद्भावसँग सम्बन्धित दफा २ अन्तर्गत पक्राउ गरेको दिल्ली 
प्रहरीले जनाएको छ ।

जुबेरको अल्ट न्युजले भारतीय मिडियामा आएका गलत समाचार र सूचनाको जाँचपडताल गरेर सत्य–तथ्यबाहिर ल्याउने गर्छ । जुवेर केही समययता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी (भाजपा)ले मुलुकका २० करोड मुस्लिमको अधिकार कुण्ठित गरेको भनेर तिखो आलोचनायुक्त टिव्ट गरिरहेका थिए ।

बिजेपी सरकारले आलोचनाहरूलाई दबाउन र अघोषित सेन्सरसीपका लागि बाध्य बनाउन उपनिवेशकालिन कानुनहरूको प्रयोग गरिरहेको आरोप आलोचकहरूले लगाइरहेका छन् । जुबेरको पक्राउलाई लिएर वाक स्वतन्त्रताका पक्षधरले सरकारको कडा आलोचना गरेका छन् ।

यसै महिनाको सुरुवातमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मुहम्मदका बारे गरेको अपमानजनक टिप्पणीलाई लिएर जुबेरले गरेका ट्विटहरूले मुस्लिम समुदायको ध्यानाकृष्ट गरेको थियो । मुस्लिम समुदायबाट चर्काे असन्तुष्टि आउन थालेपछि भाजपाले शर्मालाई प्रवक्ताबाट निलम्बन गरेको थियो । 

सुझावित समाचार