गायन ब्याटल त देखे सुनेकै हो, तर डान्स (नृत्य)मा ब्याटल भने कमै हुन्छ । तर, बाग्लुङमा भने हालै स्थानीय संस्कृति झल्किने गरी ‘कल्चरल र अलस्टाइल डान्स ब्याटल’ प्रतियोगिता आयोजना भएको छ ।
पोखरा, काठमाडौंजस्ता ठूला सहरमा समेत आक्कलझुक्कल हुने डान्स ब्याटलमा बाग्लुङका किशोरकिशोरी निकै सक्रियसँग सहभागी भएका छन् । सधैँ एउटै गीतमा एकहोरो नाच्ने गरेका उनीहरू कल्चरल र अलस्टाइलमा ब्याटल नाचे । ‘हाम्रा लागि यो प्रतियोगिता नयाँ पनि हो,’ प्रतियोगितामा सहभागी रोहन भण्डारीले भने, ‘नेपालमा खासै यस्तो प्रतियोगिता हुँदैन । भइहाले पनि निकै कम मात्रामा हुन्छ । ब्याटलमा सबै विधालाई समेट्न सकिन्छ । समय र परिस्थितिअनुसार यस्ता कार्यक्रमको आवश्यकता छ ।’
कल्चरलमा नेपाली लोकसंस्कृतिका मारुनी, कौडा, सालैजो, पञ्चेबाजालगायतमा नाचिएको थियो भने अलस्टाइलमा हिपहप, वाकिङ र लकिङपपिङ हाउसलगायतलाई समेटिएको थियो । कल्चरल नेपाली संस्कृतिसँग जोडिने नृत्य हुन् भने अलस्टाइल आधुनिक नृत्य हुन् । प्रबुद्ध युवा समूह र बाग्लुङ नृत्य समुदाय बाग्लुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’ प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् । प्रतियोगितामार्फत नृत्यमा नयाँ आयाम थपेको कार्यक्रमका संयोजक विशेष पराजुलीले बताए ।
डान्स ब्याटल कसरी गर्ने ?
डान्स ब्याटलमा दुईजनालाई एकैपटक नृत्य गर्न लगाइन्छ । नृत्य गर्नेलाई ४० सेकेन्ड समय दिने र संगीत पनि फरक–फरक हुन्छ । यसका लागि कुनै विशेष गीतमा नाच्ने भन्ने हुँदैन । प्रबुद्ध युवा समुह बाग्लुङका अध्यक्ष दीपेश सुनारका अनुसार नतिजा पनि उतिवेलै आउँछ । निर्णायकले तत्काल कसको राम्रो भयो निर्णय गर्नुपर्छ ।
युवालाई खेल, नृत्य र रचनात्मक क्षेत्रमा
लगाएर विकृतिबाट बचाउने लक्ष्यले यो कार्यक्रम गरेको अध्यक्ष सुनारले बताए । गत शनिबार बाग्लुङमा भएको कार्यक्रममा जिल्लाबाहिर भैरहवा, काठमाडाैं, चितवन, पोखरालगायत १० वटा सहरबाट एक सयभन्दा बढी प्रतियोगी सहभागी थिए ।
प्रतियोगितामा कल्चरलतर्फ काठमाडांैका लाक्पा लामा प्रथम र पोखराका सन्तोष मगर द्वितीय भए भने अलस्टाइलतर्फ काठमाडाैंकी सोना तामाङ प्रथम र बाग्लुङका अन्जान आले द्वितीय भए । प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे भने फस्ट रनरअपले १० हजार र प्रमाणपत्र प्राप्त गरे ।