एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

पार्टी स्थापना भएको करिब आठ महिनाको राजनीतिक उपलब्धिबारे समीक्षा हुने

स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजना र मन्त्री हेरफेरको विषयमा छलफल गर्न शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ । मन्त्री हेरफेर गर्नेबारे पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयनमा नआएपछि यतिवेला एकीकृत समाजवादीमा तनाव छ । 

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शनिबार र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापी रूपमा भएका सांगठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तरक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिबारे समीक्षा हुने बताए । उनका अनुसार बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना, रणनीति तयार गरिनेछ ।

शुक्रबार बसेको पोलिटब्युरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ । केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाको सबै सिटमा पार्टी आफ्नै धरातलमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने विषयमा अधिकांश नेताको सुझाव आएको छ ।

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने पक्षमा आफू रहेको भए पनि गठबन्धनले आफ्नो पार्टीलाई न्यायोचित व्यवहार नगरेमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको र परिस्थिति परिवर्तन पनि हुन सक्ने उनको भनाइ छ ।

सुझावित समाचार