निर्माण सम्पन्न हुनै लाग्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुल ढलेको एक वर्ष पुग्दा पनि उठ्न सकेको छैन । निर्माण सुरु भएको १२ वर्षपछि सम्पन्न हुनै लाग्दा गएको वर्ष त्रियुगा नदीमा आएको बाढीले पुल ढलेको थियो । उक्त पुल एक वर्षमा पनि नबन्दा स्थानीय झनै निराश बनेका छन्।
स्थानीय हेमतीकुमारी चौधरी भन्छिन्, ‘निर्माण सुरु भएको १२ वर्षपछि पुल सम्पन्न हुँदै थियो । उद्घाटन हुने वेला ढल्यो, अहिले १३ वर्ष पुगिसेको छ । कहिले बन्ने हो थाहा छैन ।’
पुल नहुँदा स्थानीय त्रियुगा नदीमा काठको ढुंगाबाट जोखिम मोलेर वारिपारि गर्न बाध्य छन् । दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीय समस्यामा परेका छन् । चौधरी भन्छिन्, ‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूमा काम गर्ने कर्मचारीसमेत समस्यामा परेका छन् ।’
सम्पन्न हुनै लागेको पक्की पुल गत वर्ष असार १९ गते त्रियुगा नदीमा आएको बाढीले ढलेको थियो । बाढीका कारण पुलको स्ल्याब ढलेको छ । पुलमा २५–२५ मिटरका १२ स्पान र ११ वटा पिलर छन् । पुलको लम्बाइ तीन सय सात मिटर र चौडाइ पाँच मिटर रहेको छ ।
पुल निर्माणको जिम्मा महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कम्पनी कलंकी काठमाडौंले १३ वर्षअघि पाएको थियो । तर, ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण कार्यमा ढिलाइ गरेपछि स्थानीयले चर्को विरोध गरेका थिए । ढलेकै वर्ष निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको लागत पुनर्मूल्यांकन गरेर नाै करोड ७६ लाखबाट ११ करोड पुर्याई सम्पन्न हुँदै गर्दा ढलेको थियो ।

ढलेको पुलको डिजाइन र माटोको परिक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौंले गरेको थियो । उक्त पुल ढल्दा स्थानीय ४८ वर्षीय अख्तर मियाँ घाइते भएका थिए । उनै मियाँ भन्छन्, ‘म पुलबाट तर्दै गर्दा पुल ढलेर घाइते भएको थिएँ, म उपचारपछि ठीक भएँ, तर अझै ढलेको पुल उठेको छैन ।’
हाल उक्त पुल अलपत्र अवस्थामा छ । पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर गोपाल खकुरेलले ढलेको पुलको विषयमा छानबिन समिति बनेको र छानबिन समितिको प्रतिवेदन सडक विभागबाट नआउँदा ढलेको पुल उठ्न नसकेको बताए ।
उनले भने, ‘ढलेको पुलको एउटा छानबिन समिति बनेको थियो । त्यो छानबिन समितिले पुल ढल्नुको कारण पत्ता लगाउनेछ । पुल ढल्नुको कारण नआएकाले ढलेको पुलको काम अघि बढ्न सकेको छैन ।’
यता निर्माण कम्पनी महालक्ष्मी लोकप्रिय जेभीका साइड इन्चार्ज केदार तिमल्सिनाले ढलेको पुलको काम सडक विभाग र गाईघाट–दिक्तेल सडक आयोजनाले ढिलो गरेको बताए । ‘हामीले पनि सम्पन्न हुनै लाग्दा ढलेको हो । हामीलाई जसरी काम गर्न भनेका थिए, त्यसैगरी काम गरेका हौँ, अब पुरानै लागतमा काम गर्न सकिँदैन । त्यसको पुनर्मूल्यांकन गरेर काम दिनुपर्छ ।’
चौदण्डीगढी नगरपालिका नगरप्रमुख कालुमान लामाले ढलेको पुल बन्ने टुुंगो नलागेकाले झोलुङे पुलको विकल्प खोज्नुपर्ने बताए । उनले भने, ‘पुल बन्न थालेको १२ वर्षपछि निर्माण सम्पन्न हुनै लाग्दा ढलेको थियो । ढलेपछि ढल्नुको कारण पत्ता लगाउन छानबिन समिति बनेको थियो । तर, अहिले के भइरहेको छ । त्यो कसैलाई पनि थाहा छैन । त्यसकारण त्यस क्षेत्रमा मारमा परेको जनताको माग सम्बोधन गर्न झोलुङे पुल निर्माणको प्रक्रिया अघि बढाएको छु ।’