वैज्ञानिकलाई खुसी पार्ने प्लास्टिक खाने किरा

बुधबार, १ असार, २०७९
डिजिटल संस्करण

प्याकिङ सामग्री, सामान बोक्ने पोलिथिन झोलादेखि दैनिक जीवनमा प्लास्टिक अभिन्न अंगजस्तै भएपनि यसलाई व्यवस्थापन गर्न भने कठिन हुने गर्छ । पुनः प्रयोग गर्न सजिलो नभएकाले अधिकांश प्लास्टिक ल्यान्डफिल साइटमा पुग्छन् । कति नदीनाला हुँदै महासागर पुग्छन्, जहाँ यसले समुद्री जीवनलाई खतरामा पार्छ ।वैज्ञानिकले धेरै वर्षदेखि प्लास्टिक सडाएर गलाउने प्रविधिमा अनुसन्धान गर्दै आएका थिए । अहिले अस्ट्रेलियाका क्विन्सल्यान्ड विश्वविद्यालयका वैज्ञानिकले प्लास्टिकलाई सहजै पचाउने किरा फेला पारेका छन् । जोफोबास मोरियो नामक किराले प्लास्टिक खाने मात्र होइन, तिनलाई पचाएको पनि देखिएको छ ।

माइक्रोबाइल जिनोमिक्स नामक जर्नलमा गत बिहीबार प्रकाशित अध्ययन रिपोर्टको नेतृत्व गर्ने क्रिस रिंकेले एपिएफसँगको कुराकानीमा विगतका अध्ययनले मसिना वाक्सवर्म र मिलवर्मले प्लास्टिक खाने गरेको देखाएकाले त्यस्तै खालको ठूला किराले थप धेरै प्लास्टिक खाने अनुमानबाट अनुसन्धान सुरु गरिएको थियो । प्लास्टिक खाने ठूला किराको अद्भूत क्षमतालाई मध्यनजर गर्दै वैज्ञानिकहरूले जोफोबास मोरियोलाई ‘सुपरवर्म’ नामकरण गरेका छन् ।

सुपरवर्म दुई इन्च (पाँच सेन्टिमिटर)सम्म बढ्छन् । यी किरालाई सरीसृप तथा चरालाई खुवाउन हुर्काइन्छ । थाइल्यान्ड र मेक्सिकोजस्ता देशमा केही मानिसले यो किरालाई खाद्यस्रोतको रूपमा समेत प्रयोग गर्छन् । रिन्के र उनको टोलीले तीन सातासम्म सुपरवर्महरूलाई विभिन्न आहारहरू खुवाएका थिए । किरालाई खाद्यान्नका रूपमा स्टाइरोफोम पनि भनिने केही पोलिस्टायरिन फोम पनि दिइएको थियो । ‘हामीले अध्ययनबाट के पुष्टि गर्यौं भने सुपरवर्म पोलिस्टाइरिन आहारमा मात्र पनि बाँच्न सक्दा रहेछन् । खाना नदिइएको समूहको तुलनामा यिनले निकै राम्रो ऊर्जा प्राप्त गरेको देखियो । अर्थात् सुपरवर्मले पोलिस्टाइरिन खाएरसमेत आवश्यक ऊर्जा प्राप्त गर्न सक्छन् भन्ने देखिएको छ,’ रिन्केले भने । 

पोलिस्टायरिन मात्र दिइएको सुपरवर्महरूले तिनको जीवनचक्र पूरा गरेर प्युपा बन्दै पूर्ण रूपमा विकसित वयस्क बिटल किरामा परिणत भए । तर, तिनको पेटमा पाइने सूक्ष्मजीवको विविधतामा ह्रास भएको पाइयो । यो अवलोकनले वैज्ञानिकहरू किरा पोलिस्टायरिन मात्र खाएर बाँच्न सक्ने भए पनि त्यो किराको लागि पौस्टिकयुक्त नहुने र लामो समयमा तिनको स्वास्थ्यमा असर गर्ने निष्कर्षमा पुग्यो । त्यसपछि, अनुसन्धान टोलीले मेटाजिनोमिक्स भनिने प्रविधि प्रयोग गरेर पेटमा पाइने माइक्रोबियलहरूको विश्लेषण गर्दै प्लास्टिकलाई गलाउन कुन इन्जाइमहरू संलग्न थियो भन्ने पत्ता लगाउने प्रयास गर्यो । 
– साइन्स एलर्टबाट

सुझावित समाचार