अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डिङ जनरल चाल्र्स ए फ्लिन नेतृत्वको टोली आइतबार स्वदेश फर्केको छ । जनरल चाल्र्सले आइतबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।
जनरल चाल्र्सले नेपाली सेना भरपर्दो जमिनी शक्ति (ल्यान्ड पावर) भएको बताएका छन् । पाँचखालमा नेपाली सैनिक अधिकारीले जनरल चाल्र्सलाई शान्ति स्थापक मिसनका लागि भइरहेका तालिमबारे जानकारी गराएका थिए । चाल्र्सको भ्रमण दलले शान्ति स्थापना कार्यमा आवश्यक पर्ने प्रदर्शनीको पनि अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले अमेरिकाले शान्ति स्थापना कार्यका लागि नेपाली सेनालाई निरन्तर सहयोग गरिरहने वचन दिएका थिए । भविष्यमा नेपाली सेनालाई सहयोग थप वृद्धि हुने पनि उनको भनाइ थियो ।
जनरल चाल्र्सले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । चाल्र्सले सबै भेटवार्तामा सेनालाई अमेरिकाले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघमार्फत सहयोग जारी राख्ने वचन दिएका थिए ।