बाबुछोराको हत्या प्रकरण : हत्यामा संलग्न रहेको आरोपमा तीन पक्राउ

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

सिराहाको अर्नमा गाउँपालिका १ महनौरस्थित पालटोमा १० दिनअघि आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका बाबुछोराको हत्या अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ६० वर्षीय चन्देश्वर पाल र उनका छोरा १९ वर्षीय सन्तकुमार पालको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका मृतक चन्देश्वरकी साहिँली बुहारी २६ वर्षीया शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ बस्ने ६५ वर्षीय बेचु पाल र अर्नमा १ महनौरका ४८ वर्षीय जनिफ मियाँलाई सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरूलाई सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रहरीका अनुसार परिवारसँग राम्रो सम्बन्ध नभएपछि शान्तिदेवी गोलबजार ४ मा डेरा लिएर बस्दै आएकी थिइन् । उनकै योजनाअनुसार विवाह हुन लागेका देवर र ससुराको हत्या भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार ११ जेठमा मोरङको विराटनगरकी युवतीसँग विवाह गर्ने तयारीमा रहेका सन्तलाललाई दाइजोस्वरूप एक लाख नगदसहित मोटरसाइकल तथा आठ आना सुन दिने मौखिक सहमति भएको थियो । त्यसअघि त्यही युवतीसँग पक्राउ परेका बेचुका छोरा प्रदीप पालको विवाह हुने भएपछि केटी पक्षले विराटनगरमा घडेरीसहित घर निर्माण गरिदिने, केटाले व्यापार गर्न चाहेमा लगानी पनि गरिदिने सहमति भएको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले उल्लेख गरे । 

सहमति भएको केही दिनपछि बेचुका छोराले केटीको पहिले पनि विवाह भएको भन्दै विवाह नगर्ने अडान लिएपछि बेचुले दाइजोको लोभमा त्यही केटीसँग विवाह गर्न छोरालाई दबाब दिएको उनले बताए । उनका अनुसार त्यसका बाबजुद छोराले विवाह नगर्ने भनेकी केटीको छिमेकी गाउँका सन्तकुमारसँग विवाह हुने तय भएपछि चिढिएका बेचु मृतक परिवारसँग बदला लिने मौका हेरिरहेका थिए ।  
परिवारसँग राम्रो सम्बन्ध नरहेकी शान्तिदेवीलाई सासुससुराले ‘राम्रो चरित्र नभएकाले कान्छो देवरको विवाहमा नआउनू बरु नानीहरूलाई मात्र पठाउनुू भनेपछि रिसले आगो भएकी उनले बेचुसहित मियाँसँग मिलेर हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

‘विवाहमा आयौ भने छिमेकीहरू आउँदैनन्’ भन्दै सासुससुराले घरमा आउन लगाएको बन्देज, अंशको विवाद र माइतीबाट ल्याएको चाँदीको गरगहनासमेत नदिएको भन्दै शान्तिदेवीले ५० हजार रुपैयाँमा हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार