काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कार्यदल गठन गर्नेदेखि नि:शुल्क शौचालयको प्रयोगका लागि रेस्टुरेन्ट र होटेलसँग सहकार्य गर्ने भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहणपछि सोमबार बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले महानगरवासीको गुनासो सम्बोधनका लागि कल सेन्टरको स्थापना सात दिनभित्र सुरु गर्ने, बिग्रेका, भत्केका सडक र ढल तत्काल मर्मतका लागि इन्फास्ट्रक्चर एम्बुलेन्स सात दिनभित्र सञ्चालन गर्नेलगायतको सात बुँदे निर्णय गरेको छ । ‘महानगरपालिकाको फोहोरका कारण सिसडोल र बन्चरेडाँडामा मानिस बस्न गाह्रो भएको छ । सिसडोलमा १६–१७ वर्षदेखि जम्मा भएको फोहोरका कारण हरेक घरमा क्यान्सरपीडित, छालारोगले पीडित भएका मानिस छन् । सिसडोल क्षेत्र बस्न अयोग्य भएको छ । त्यसैले फोहोरमैला व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव मनाउने होइन,’ प्रमुख बालेन्द्र साहले भने ।
उनले अब होटेल र रेस्टुरेन्टको शौचालय निःशुल्क प्रयोग गर्न सकिनेसमेत बताएका छन् । ‘शौचालयका लागि तत्काल होटेल र रेस्टुरेन्टसँग सहकार्य गर्छौं,’ साहले भने, ‘सात दिनभित्र शौचालय लेखेको बत्ती महानगरपालिकाले होटेल र रेस्टुरेन्टअगाडि जडान गरिदिनेछ । र, उहाँहरूले निःशुल्क रूपमा शौचालय प्रयोग गर्न दिनुहुन्छ । होटेल र रेस्टुरेन्ट खोलिसकेपछि व्यापार मात्र नभएर सेवा पनि हो । यो भनाइमा मात्र सीमित नराखी बत्ती राखेपछि कसैले पनि कसैलाई पनि नसोधी शौचालय निःशुल्क रूपमा प्रयोग गरेर फर्कन सक्नेछ ।’
पारदर्शिताका लागि लाइभ बैठक
महानगर प्रमुख साहले पारदर्शिताका लागि बैठकको प्रत्यक्ष प्रसारण गरेको बताएका छन् । ‘यो त संसदीय अभ्यास गरेको हो नि । तपाईंहरू भोलि सांसद लड्नुहोला । यही तरिकाले जाने हो । पारदर्शिता पनि भयो,’ उनले भने, ‘मैले केही लुकाउनुपर्ने छैन । कुनै पनि कुरा गोप्य राख्नुपर्ने छैन । बजेट, प्रविधि, तपाईंहरू अनि हामी छौँ । गोप्यता भन्ने केही छैन ।’ महानगर उपप्रमुख सुनिता डंगोलले सार्वजनिक शौचालयलगायतको विषयमा पहिला पनि अध्ययन अनुसन्धान भइसकेकाले पहिलाका अध्ययन अनुसन्धानलाई फर्केर हेर्दा शून्यबाट काम सुरु गर्नुनपर्ने बताइन् । बैठकमा वडाध्यक्षहरूले ३२ वटै वडामा शौचालयको व्यवस्था गर्नुपर्नेलगायतका विषय उठाएका थिए ।