२७ किलोमिटर सडक पार गर्न तीन घन्टा

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

जिल्ला सदरमुकाम मन्थली र लिखु तामाकोसी गाउँपालिका केन्द्रबीचको दूरी जम्मा २७ किलोमिटर छ । तर, उक्त दूरी पार गर्नलाई तीन घन्टा बढी समय लाग्ने गरेको छ । कच्ची सडक, जताततै खाल्डाखुल्डी र त्यसमाथि वर्षात् हुँदा गाडीहरू घन्टाैँसम्म तीनै खाडलमा भासिने र फस्ने हुँदा यात्रु समयमा आफ्नो गन्तव्यमा पुग्न सक्दैनन् । .सोही सडकमार्ग हुँदै लिखु नदीमा निर्मार्णाधीन जलविद्युत् आयोजनाका मालवाहक सवारीसाधन निरन्तर रूपमा गुड्छन् । 
    
सडकका अधिकांश भागमा खाडल छन् । ती खाडल पुर्न न त जलविद्युत आयोजनाले चासो देखाएको छ न त सम्बन्धित गाउँपालिकाले नै । सडक मर्मत–सम्भार नहुँदा हिउँदको समयमा पनि साना चारपांग्रे सवारीसाधन गुड्न मुस्किल पर्छ भने मोटरसाइकल चलाउने चालकहरूले आफ्नो ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । 
    
जलविद्युत् परियोजनाका ठूला मालवाहक सवारीसाधनले सडकमा क्षती पु–याएकाले समस्या भएको लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहले बताए । ‘पालिकाले खर्च गरेर सडक बनाए तापनि जलविद्युत् परियोजनाका ठूला सवारीसाधन गुडाउँदा सडक क्षतविक्षत् बनाएको हो,’ उनले भने । 

केही महिनाअघि सडकमा क्षति पुगेको भन्दै गाउँपालिकाले जलविद्युत् आयोजनाका सवारीसाधनमाथि रोक लगाएको पनि थियो । जिल्ला प्रशासन कार्यालयले जलविद्युत् आयोजनाका सवारीसाधनलाई रोक लगाउन नमिल्ने भन्दै सडकमा निर्वाध ढंगले यातायात सञ्चालन गर्न दिनुपर्ने भन्दै पालिकाको उक्त सूचना खारेज गरिदियो । 

लिखु नदीमा सञ्चालन भएको लिखु ४ जलविद्युत् आयोजनाले निर्माणको काम सम्पन्न गरेर व्यावसायिक रूपमा उत्पादन गर्न सुरु गरिसकेको छ । जलविद्युत् उत्पादन गर्न लागेको उक्त कम्पनीले मन्थली–धोबी सडक खण्ड मर्मत–सम्भार नगरेको गाउँपालिकाको आरोप छ । गाउँपालिकाको लिखु नदीमा लिखु ३ र लिखु ४ जलविद्युत् परियोजना सञ्चालनमा रहेका छन् । जसमा लिखु ४ आयोजनाले काम सम्पन्न गरी विद्युत् उत्पादनको काम सुरुवात गरिसकेको छ भने लिखु ३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । 
   
पालिकाको केन्द्रसम्म पुग्ने सडक जर्जर भएकाले नागरिकहरूले सास्ती खेप्नु परेपछि नवनिर्वाचित पालिका अध्यक्ष केशव महतले उक्त सडक कालोपत्रे गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने, ‘यसअघि पनि हाम्रो पालिकाको मुख्य केन्द्रसम्म पुग्ने सडकलाई प्रदेश र संघीय सरकारले प्राथमिकतामा पारेनन् । यसपटक प्रदेश र संघीय सरकारसँग बजेट मागी सडक बाह्रै महिना चल्न सक्ने बनाउने गरी काम थाल्नेछु’, उनले भने । 

हिउँदको समयमा सवारीसाधन चलाउन केही सहज भए तापनि वर्षात्को समयमा भने उक्त सडकमा सवारीसाधन चलाउनै मुस्किल पर्नेगरेको छ । सो गाउँपालिकाभित्रका खिम्ती–शिवालय–धोबी जोडे्ने सडक, दुरागाउँ–सैपु र नागदह खण्डको सडक पनि जर्जर रहेको लिखु तामाकोसी गाउँपालिकाका स्थानीय आशवहादुर तामाङले जानकारी दिए । ‘यो सडकमा न त प्रदेश सरकारको आँखा प–यो, न त संघीय सरकारले यस सडकलाई प्राथमिकतामा राख्यो’, तामाङले भने, ‘आफ्नो ज्यानको बाजी नै थापेर यात्रा गर्नुपर्ने अवस्था छ ।’ 
 

सुझावित समाचार