मुगुमा आइतबारदेखि यार्सा संकलन खुला गरिने

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

मुगुको पूर्वी मुगम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुला गरिने भएको छ। गाउँपालिकाका विभिन्न वनक्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लावासी र जिल्लाबाहिरबाट आउने सर्वसाधारणका लागि भोलिदेखि प्रवेश खुला गरिने भएको हो।

गाउँपालिकाको वडा नं. २ मा पर्ने रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका वनमा यार्सागुम्बा पाइन्छ। उक्त वनक्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने गरेको छ। कर बुझाएका संकलकले १५ गते बिहान वनक्षेत्रमा प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिए।

यार्सा संकलनका लागि वनक्षेत्र प्रवेश गर्न जिल्लावासीलाई दुई हजार र बाहिरी जिल्लाका लागि २ हजार ५ सय प्रवेश शुल्क निर्धारण गरिएको छ। गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पार्ने कार्य नगर्नसमेत संकलकलाई आग्रह गरेको छ।

यार्सा संकलनका क्रममा पाटन क्षेत्रमा सिसा, प्लास्टिकजन्य वस्तु नफाल्न, जथाभाबी रूखबिरुवा नकाट्न तथा कुनै चोरी नर्गनसमेत गाउँपालिकाले आग्रह गरेको छ। यदि अटेर गरी कोही कसैले यस्तो कार्य गरेको पाइएमा कडा कार्वाही गरिने चेतावनी दिइएको छ।

यार्सा संकलनका क्रममा लुटपाट र चोरी हुने भएकाले सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। यार्सा संकलन अवधिभर संकलनकर्तालाई असुरक्षा महसुस हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती गर्नेछ।

यार्सा संकलकबाट उठेको रकम गाउँपालिकाको खातामा जम्मा गरिने र पछि गाउँ कार्यपालिकाको बैठक बसी कुन क्षेत्रमा लगानी गर्ने भनी निर्णय गरिने बताइएको छ।

सुझावित समाचार