व्यासको पुनः मतगणना गर्न दिएको निवेदनमा उच्च अदालतले दियो कारण देखाऊ आदेश

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै दिएको निवेदनमा उच्च उदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग दुई सय ५२ मत अन्तरले पराजित जोशीले बिहीबार उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए । जोशीको निवेदनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, विजयी मेयर न्यौपानेसँगै पाँचजनालाई विपक्षी बनाइएको छ । मेयरमा विजयी न्यौपानेले आफ्नो पदभार ग्रहणसँगै कामसमेत सुरु गरिसकेका छन् । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।

जोशीको निवेदनमाथि शुक्रबार भएको सुनुवाइपछि अदालतले निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो ? त्यसको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा कारण देखाउ आदेश दिएको हो ।

न्यायधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको इजलासले निर्वाचन अधिकृतको कार्यालयसँगै अन्य विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो । जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर  षड्यन्त्रपूर्वक आफूलाई हराइएको दाबी गरेका छन् ।
 

सुझावित समाचार