नुवाकोटको पञ्चकन्यामा आफ्ना कार्यकर्तामाथि भएको कुटपिटकाे घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा मतगणनाका क्रममा आफ्ना नेता कार्यकर्तामाथि भएको कुटपिटको घटनाप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घलेभञ्ज्याङस्थित मतगणनास्थलमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङको नेतृत्वमा आफ्ना नेता तथा कार्यकर्ताहरूमाथि कुटपिट गरी गम्भीर घाइते बनाइएको कांग्रेसले जनाएको छ।

'नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पदका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)को नेतृत्वको समूहले नेपाली कांग्रेसका क्षेत्रीय सचिव जगदीश कुइँकेल, जगदीश फुँयाल, सुवर्ण तामाङ, राजन पाण्डे, सुजन थापा, सुशील थापा, निरज भण्डारी, विजय थापा, प्रभास सुवेदीलगायत दर्जनौँ कार्यकर्ताहरूमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको ध्याना आकृष्ट भएको छ,' विज्ञप्तिमा उल्लेख छ।

त्यस्ता गतिविधि नदोहोर्याउन चेतावनी दिँदै कांग्रेसले घाइतेहरूको उपचार र घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

सुझावित समाचार