पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा उत्रिएकाहरूले ‘जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन’, ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।