स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मिति नजिकिँदै छ। दलका नेता–कार्यकर्ता मतदाताका घरदैलो पुगेर विभिन्न आश्वासन बाँड्दै मत मागिरहेका छन्। तर, हुम्लाका मतदाता भने आफ्नो पेट भर्ने र आफ्ना लागि सम्पत्ति जोड्ने नेता आफूहरूलाई नचाहिएको बताउन थालेका छन्।
सिमकोट गाउँपालिका–६ की काली रोकाया गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरूका समस्या समाधान गर्न जनतालाई नेता चाहिने बताउँछिन्। ‘भोट माग्न आउँदा विभिन्न आश्वासन दिएर जान्छन्, तर चुनाव जितेर गएपछि नमस्कारसमेत फर्काउँदैनन्,’ रोकायाले भनिन्, ‘हाम्रा समस्या बुझ्ने नेता चाहिएको छ, आफ्नो पेट भर्न्या र आफ्नो गादा भर्न्या नेता चाहिँदैन।’
सिमकोट– ६ की नउसरा रावत पनि भोट माग्न आउने नेता–कार्यकर्ता देखेर वाक्क–दिक्क भइसकेको बताउँछिन्। ‘एक हुल जान्छ अर्को हुल आइहाल्छ भोट दिनु भन्दै। घरको भुइँले समेत सुख पाएको छैन। दिनदिनै घर लिपपोत गर्दै ठिक्क छ,’ रावतले भनिन्। भोट माग्न आउने नेता र कार्यकर्तालाई टीका लगाइदिँदा–लगाइदिँदै चामल मात्रै खर्च भएको सिमकोट– ६ की जयदेवी रोकाया गुनासो गर्छिन्। ‘घरदैलो आउँछन् भोट माग्ने। चुनाव सकिएपछि हामीकन हेर्न्या होइनन्। टीका लगाउँदा चामल मात्रै खर्च हुन्छ,’ उनले भनिन्।
भोट माग्दा विकास गर्छु, महिला, बालबालिका, वृद्धवृद्धा, दलित सबैको माग सम्बोधन गर्छु भनेर मख्ख पारेर जाने नेताहरूले जितेपछि नचिनेझैँ गर्ने भन्दै हुम्लाका अधिकांश मतदाता उम्मेदवारहरूप्रति असन्तुष्ट बनेका छन्।