प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान हुँदासम्म कुनै पार्टीले पनि बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन हुनु हामी सबैका लागि खुसीको कुरा भएको बताउँदै आजको गठबन्धन, भोलिको पनि गठबन्धन हुने उल्लेख गरे।
उनले यो गठबन्धन धेरै वर्षसम्म जानुपर्नेमा जोड दिए । उनले भने,‘ आज गठबन्धनका सम्पूर्ण साथीहरू एक भएर अगाडि बढेका छौँ, यो हाम्रो लागि खुसीको कुरा हो ।’
देउवाले सबै पार्टीहरू एक भएपछि मात्रै देशमा परिवर्तन आएको सम्झिए । उनले भने, ‘हाम्रो पार्टी सबैलाई मिलाएर हिँडेको पार्टी हो । सम्पूर्ण पार्टीहरू एक भएपछि देशमा परिवर्तन आएको हो । सम्पूर्ण नेपालीहरूले अधिकार पाउने व्यवस्था ल्याएका छौँ हामीले ।’
उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भएको जिकिर गरे । जर्मनीमा वर्षाैँदेखि गठबन्धनको सरकार रहेको भन्दै उनले बेल्जियम, स्विडेन, डेनमार्कमा संयुक्त सरकार रहेको उदाहरण पेस गरे । यो गठबन्धनलाई सफल पार्न सबैजना देशैभरि एक भएर हिँड्नुपर्नेमा उनकाे जोड थियाे ।