मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंमा सम्पर्क कार्यालय खोलेको छ । काठमाडौंको नक्सालमा खुलेको सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो । नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएको निष्कर्षसहित बोसले नेपालमा नयाँ कदम चालेको जनाएको छ । नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुने जनाइएको छ ।
११ सर्भिस पार्टनर र २५ कर्मचारीमार्फत कम्पनीले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने जनाइएको छ । सम्पर्क कार्यालय उद्घाटन गर्दै बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले कम्पनी सञ्चालनको आकार विस्तार गर्ने अभियानअन्तर्गत नेपालमा सेवा सुरु गर्ने पर्खाइमा रहेको वताए ।
बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयहरूका साथै सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको उनको भनाइ थियो । उनले भने, ‘हामीले हाम्रा अत्याधुनिक र विशिष्ट रूपमा निर्मित उत्पादन तथा सोलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेका छौँ । हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हामी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र नेपाल र बोसबीच लामो साझेदारी विकासको प्रतीक्षा गर्छौँ ।’
नेपालमा कार्यालय उद्घाटनसँगै कम्पनीेले आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरेको जनाएको छ । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडाअनुसार यसले विश्वभर चार लाख एक हजार तीन सयजनालाई रोजगारी दिएको दाबी गरेको छ । प्रारम्भिक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२१ को बिक्री ७८.८ अर्ब युरोबराबर रहेको जनाइएको छ । यसको सञ्चालन व्यवसायका चार क्षेत्र मोबिलिटी सोलुसन्स, औद्योगिक प्रविधि, सर्वसाधारणले प्रयोग गर्ने वस्तु (कन्जुमर गुड्स) र ऊर्जा तथा भवन प्रविधि रहेको जनाइएको छ ।