निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशका आफ्ना अगुवा सदस्यको भेला गरेको छ । भेलामा १० जना केन्द्र प्रमुखले आ–आफ्ना अनुभव र अनुभूति साटेका थिए ।अधिकांश सदस्यले आफ्नो नेतृत्व र उद्यमशीलताको विकास निर्धनको ऋण सहयोगले सम्भव भएको बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले अहिले संस्थाका ५० हजार समूह बनेको जानकारी दिए । देशका ७७ वटै जिल्ला पुगेको यो संस्थामा आबद्ध महिलाले आर्थिक उन्नति गर्नुका साथै सामाजिक कुसंस्कारका विरुद्ध पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
‘हाम्रो समूहका दिदीबहिनीहरू प्रदेशमा मन्त्रीसम्म हुनुभएको छ,’ उनले भने, ‘नेतृत्व विकास भनेको यही नै होला ।’ निर्धन उत्थान लघुवित्त राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर हरिहरदेव पन्तले स्थापना गरेका हुन् ।