दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दुईजना नेताको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसको १ नम्बर प्रदेश समितिले दिएको टिकटको आधारमा धर्मराज पोखरेल र केन्द्रीय कार्यसमितिले दिएको टिकटको आधारमा तीर्थराज भट्टराईको उम्मेदवारी दर्ता भएको हो ।
पोखरेल सोमबार दिउँसो करिब ४ बजे प्रदेश समितिले दिएको टिकट लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा उम्मेदवारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रीय समितिले दिएको टिकट लिएर उम्मेदवारी दर्ता गर्न कार्यालय पुगेका थिए । पोखरेल र भट्टराई दुवैजनाले आफू आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको हस्ताक्षरमा पोखरेलकाे नाम उम्मेदवारका रूपमा मनोनयन गरिएको र केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा भट्टराईलाई आधिकारिक उम्मेदवार भएको उल्लेख गरेर टिकट दिएको पाइएको छ । पोखरेललाई दिइएको टिकटमा चलानी नम्बर उल्लेख नगरी जिल्ला पार्टी सभापतिलाई सम्बोधन गरिएको छ भने भट्टराईलाई दिइएको टिकटमा चलानी नं. ३३६ उल्लेख गरेर निर्वाचन अधिकृतलाई सम्बोधन गरिएको छ ।
पोखरेलले प्रदेशबाट प्रमुखको टिकट पाएको थाहा पाएपछि भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घन्टा कांग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए । तर, पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वासनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए ।
प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि कांग्रेस दिक्तेल–रूपाकोट–मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली विरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेकाे थियाे । प्रदेशबाट प्रमुखको टिकट पाएपछि पोखरेल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न करिब ३ बजे दिक्तेल ओर्लेका थिए ।
हेलिकोप्टरबाट दिक्तेल ओर्लनेबित्तिकै असन्तुष्ट पक्षले पोखरेलमाथि हातपात गरेपछि सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर कांग्रेस पार्टी कार्यालयमा पुर्याएको थियो । केही घन्टा पार्टी कार्यालयमा बसेका पोखरेल सुरक्षाकर्मीसहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेका थिए ।
पोखरेल अदालतको गेट (प्रवेशद्वार)बाट भित्र पस्नेबित्तिकै एमालेका तर्फबाट उम्मेदवार बनेका कुमार आचार्यलगायतका नेताले स्वागत गरेका थिए । गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेलका क्रममा दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको मेयर कांग्रेस र उपमेयर नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।
कांग्रेसमा टिकटको लफडा भइरहँदा गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रका बिसन राईको उम्मेदवारी दर्ता भएको छ । चार दलबीच चुनावी तालमेल भएको यस नगरपालिकामा टिकट लिने सन्दर्भमा कांग्रेसभित्र चलेको शक्तिसंघर्षको असर गठबन्धनभित्र पर्ने एमालेले आकलन गरेको छ ।
कांग्रेसभित्र आन्तरिक कलह देखिएपछि माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले मेयरमा र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट भागवत घिमिरेले उपमेयरमा उम्मेदवारी दिएका छन् । कांग्रेसको आन्तरिक कहल समाधान नभएमा तीन दल (माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल)बीच चुनावी तालमेल गर्ने योजनासमेत बनेको छ ।
उद्यपि, कांग्रेसको विवाद टुंगिएर चारदलीय गठबन्धन कायम राखेर चुनावमा जाने सहमति कार्यान्वयन भएको खण्डमा राई र घिमिरेको उम्मेदवारी फिर्ता हुने माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले बताए । कांग्रेसको तर्फबाट दुईजनाको उम्मेदवारी परेको विषयमा छानबिन गरेर अन्तिम टुंगो लगाउने तयारी भइरहेको जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिए ।
१५ वडा रहेको यस दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको प्रमुखमा एकजना स्वतन्त्रसहित आठजनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट कुमार आचार्य, जनता समाजवादीबाट सूर्यबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राई र माओवादी केन्द्रका विकास राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
१० स्थानीय तह रहेको जिल्लामा उम्मेदवारी दर्ता गर्ने क्रममा छिटफुटबाहेक अप्रिय घटना नभएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिए । निर्वाचन सफल बनाउन नेपाली सेना, जनपद, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको छ ।