साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार करिब सय अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर दुई हजार तीन सय ८६.०१ बिन्दुमा झरेको छ।
सोमबार कारोबारमा आएका दुई सय ३९ कम्पनीको ५० लाख ४७ हजार कित्ता सेयर दुई अर्ब चार करोड २२ लाख ५३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको हो।
नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। होटेल तथा पर्यटन ०.१३ प्रतिशत र म्युचुअल फन्ड ०.८२ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत, विकास बैंक २.०४ प्रतिशत घटेको छ। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि जाल्पा लघुवित्तको सेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.३३ प्रतिशत घटेको छ। रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ पावर, हिमालयन ऊर्जा विकास कम्पनी र गोर्खाज् फाइनान्सको सेयरमूल्य चार प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबार रकमका आधारमा आठ करोड ११ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ। आज शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।