स्थानीय तह निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौती र त्यसलाई सामना गर्ने विषयमा नेपाली सेनासहित चारै सुरक्षा निकायका प्रमुखहरूको बैठक आइतबार जंगी अड्डामा बसेको छ। प्रधानसेनापति प्रभुराम शर्माले बोलाएको बैठकमा बाँकी तीन सुरक्षा निकायका प्रमुख सहभागी थिए।
बैठकमा आसन्न स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा छलफल भएको जंगी अड्डाले जनाएको छ। प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल बैठकमा सहभागी थिए।
सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोजप्रताप राणा र विभागीय प्रमुखहरू तथा सुरक्षा निकायका अन्य पदाधिकारीको सहभागिता रहेको बैठकमा सेनाको युद्धकार्य निर्देशक सहायकरथी पवनकुमार घिमिरेले अहिलेको सुरक्षा अवस्था र निर्वाचनका लागि सेनाले गरेको तयारी र अपरेसनबारे ब्रिफिङ गरेका थिए। सेनाले हालसम्म गरेका कार्यहरूको प्रगति–विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्नुपर्ने विषयहरूबारे उनले प्रस्तुतीकरण गरेका थिए।
‘सबै सुरक्षा निकायका प्रमुखबीच स्थानीय तह निर्वाचन २०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।