चालू आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आव ०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो।
तथ्यांकानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ। सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ।
सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ। युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। युएईपछि टर्कीबाट पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँबराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ।
केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ। विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ। अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालू आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ। गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालू आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ। रासस