नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर जिल्लामा कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। जिल्ला सभापति खनालले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरूसँग विनम्रताका साथ आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरू होमिएको अवस्था र नेपाली कांग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै नेपाली कांग्रेसको केन्द्रीय परिपत्रअनुसार चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउँछु।’
यसअघि भरतपुरमा मेयर कांग्रेसले नै पाउनुपर्ने दाबी गर्दै आएको चितवन कांग्रेस केन्द्रीय गठबन्धनको निर्णयपछि केही शान्त देखिन्छ। गठबन्धनबाट भरतपुर मेयरमा माओवादी र उपमेयरमा कांग्रेसले नेतृत्व गरेर चुनावमा जाने सहमति भएको छ।