अढाई गुणासम्म बढाइयो हवाई यात्रु सेवा शुल्क

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

सरकारले विमानस्थल प्रयोग गरेबापत आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुसँग लिँदै आएको यात्रु सेवा सुविधा शुल्क बढाएको छ । विमानस्थल सेवा शुल्क नियमावली–२०६७ संशोधन गरेर विमानस्थल विकास शुल्क खारेज गर्दै यात्रु सेवासुविधा शुल्क बढाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । नयाँ नियमावली स्वीकृत भएको मितिले ४५ दिनपछि अर्थात् १५ जेठदेखि लागू हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक यात्रुसँग विमानस्थल हेरीकन अधिकतम दुई सय रुपैयाँ यात्रु सेवा शुल्क लिँदै आएकोमा त्यसलाई बढाएर पाँच सय रुपैयाँ पुर्याएको छ । अन्तर्राष्ट्रिय यात्रुहरूसँग यसअघि यात्रु सेवा शुल्क र विमानस्थल विकास शुल्कको नाममा प्रतियात्रु दुई हजार (सार्क मुलुकको यात्रामा १७ सय) रुपैयाँ लिइँदै आएको थियो ।

तर, विमानस्थल विकास शुल्क हटाएर यात्रु सेवा शुल्क मात्रै बढाएर प्रतियात्रु तीन हजार रुपैयाँ तिर्नुपर्ने बनाइएको छ । क्यानले रनवे पिच परिवर्तनका लागि भनेर आर्थिक वर्ष ०७१/७२ देखि अन्तर्राष्ट्रिय यात्रुसँग पाँच वर्षका लागि भनेर एक हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँदै आएको छ । तर, पाँच वर्ष पार गरे पनि क्यानले विमानस्थल मर्मत–सम्भार भन्दै सरकारकै स्वीकृतिमा उक्त रकम नियमित उठाइरह्यो । 

अब सार्क मुलुकमा यात्रा गर्ने यात्रुलाई १३ सय र अन्य मुलुकमा यात्रा गर्ने यात्रुलाई एक हजार रुपैयाँ अतिरिक्त भार थपिएको छ । यसका अलावा विदेशी पर्यटकले पर्यटन विकास शुल्कको नाममा पर्यटन बोर्डलाई अर्को एक हजार रुपैयाँ पनि बुझाउँदै आइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुले यो शुल्क बुझाउनुपर्ने हुन्छ । यी सबै शुल्कहरू टिकटमै समावेश हुन्छन् ।आन्तरिक यात्रामा विमानस्थल हेरिन दुई सयदेखि पाँच सयसम्म यात्रु सेवा शुल्क तोकिएको छ । 

सुझावित समाचार