अर्थतन्त्रको समस्यामा सरकार गम्भीर भएन : अर्थविद्

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

अर्थविद्हरूले नेपालको अर्थतन्त्र संकटोन्मुख रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू’ शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरूले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानीसमेत दिएका छन् ।  

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकाले मुलुक गम्भीर संकटमा धकेलिएको बताए । सरकारले गर्नुपर्ने काम नगर्ने, तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पुँजीगत खर्च बढाउन, नीतिगत रूपमा भएका सेटिङ रोक्न र राष्ट्र बैंकमाथिको हस्तक्षेप रोक्न आग्रह गरेका थिए ।  

पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको बताए । बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च नबढेको भन्दै क्षत्रीले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने बताए । कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्ने उनको भनाइ थियो । 

त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए । वैदेशिक कर्जाले सुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने र उत्पादनशील क्षमता बढाउन तथा चालू खर्चमा सन्तुलन ल्याउनुपर्ने बताए । राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको उनको भनाइ थियो । 

परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टीभन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए । राष्ट्रिय पुँजी निर्माण गर्न, छरिएको पुँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो । 

See More On

सुझावित समाचार