नेपालसँगको साझेदारी अझै बढाउँछौँ : चेन

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालसँगको साझेदारीलाई अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रधानमन्त्रीसँगको भेटमा उनले नेपाल सरकारले गर्ने सुधार तथा पूर्वाधारमा लगानीसँगै मानव विकासका क्षेत्रमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसका साथै लैंगिक समानताको पर्वद्धन, सामाजिक समावेशिता तथा जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्ने काममा पनि एडिबीले सहयोग गर्ने उनले बताए । सरकारले प्रदान गर्ने सेवाको अझै प्रभावकारी र कुशल बनाउन संघीयताको कार्यान्वयनमा पनि एडिबीले सहयोग गर्ने उनको भनाइ छ । 

‘नेपाल सरकारको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) रणनीतिसँग एडिबीले यहाँ गरिरहेका कामहरूको संगति मिलेको छ, साथै हामी सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने नेपाल सरकारको प्रतिबद्धतालाई समर्थन गर्न पनि तत्पर छौँ,’ उनले भने । 

उनले नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गरेकोमा प्रशंसा गरे । सो विमानस्थलले नेपालमा हवाई पहुँच बढाउनुका साथै पर्यटक बढाउन पनि मद्दत गर्ने अपेक्षा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँगको भेटमा उनले विकास परियोजनाहरूलाई छिटो सम्पन्न गर्ने विषयमा सरकारले प्रयास गरिरहेको बताएका थिए ।

सुझावित समाचार