एक सातामा नेप्से ४९ अंकले गिरावट

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण

सेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको  छ। अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पाँचौँ दिन लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर दुई हजार चार सय ६४.३१ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो।

साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रह्यो। साताको तीन दिन मात्रै कारोबार भएको छ। तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आयो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ। बिहीबार पनि सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रहेको छ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर दुई हजार चार सय १९.८० बिन्दुमा झरेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.८७ अंक घट्यो। सोमबार कारोबारमा आएका २ सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो।

साताको दोस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक ३४.७८ अंक घटेर दुई हजार तीन सय ८५.०१ बिन्दुमा झरेको थियो। यस दिन कारोबारमा आएका २ सय ३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम पनि गिरावट आएको थियो।

बुधबार भने नेप्से परिसूचक ३०.२४ अंक बढेर दुई हजार चार सय १५.२४ बिन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इन्डेक्स ६.९७ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २ सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार एक अर्ब ५२ करोडको सेयर खरिद–बिक्री भएको थियो।

सुझावित समाचार