सत्तारुढ पाँचदलीय गठबन्धनले ठाउँ र अवस्थाअनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढ्न आह्वान गरेको हो।
बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा छलफल भए पनि त्यसको टुंगो भने भोलि बस्ने बैठकले लगाउने कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। भोलि मंगलबार अपराह्न ४ बजेका लागि अर्को बैठक तय भएको छ।
पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई अमूल्य मत दिई विजयी गराउन पनि आमजनसमुदायलाई आग्रह गरेको छ। देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयवासीको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने घोषणा गरिएको स्पष्ट पारिएको छ।
सत्तारुढ गठबन्धनले संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको भन्दै त्यस्ता प्रतिगामी र परिवर्तनविरोधी शक्तिबाट देशलाई जोगाउनुपर्ने अपिलमा उल्लेख गरिएको छ।