आन्तरिक पर्यटकले भरिभराउ सुकुटे

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

गर्मीयाम सुरु भएसँगै सुनकोसी किनारमा अवस्थित सुकुटे बजार आन्तरिक पर्यटकले भरिभराउ भएको छ । काठमाडाैंबाट ६७ किलोमिटर दूरीमा रहेको सुकुटे नजिकको गन्तव्य भएकाले विशेषतः राजधानीवासी आकर्षित भएका हुन् । 

अरनिको राजमार्ग भएर बाह्रबिसे पुग्ने आन्तरिक पर्यटक सुनकोसी नदीमा र्याफ्टिङको मज्जा लिँदै दोलालघाट पुग्छन् । हाइकिङ, रक क्लाइम्बिङ, स्विमिङ र सुनकोसी नदीको पानीमा डुबुल्की मारेर नुहाउन पर्यटक लोभिएका छन् । 

गर्मीयामको चैत, वैशाख र जेठ तीन महिना सुकुटे भरिभराउ हुन्छ । शुक्रबार र शनिबार सुकुटे क्षेत्रमा दैनिक १० हजार आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । कोरोना महामारी निस्तेज भएकाले र्याफ्टिङ गर्ने विदेशी पर्यटक बढेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिकाको सिम्लेदेखि बलेफीसम्म १५ रिसोर्ट र कम्तीमा २० होटेल छन् । सुकुटे बिच एड्भेन्चर, सुकुटे भ्याली, सुनकोसी रिभरसाइड, माया बिच रिभरवे र्याफ्टिङ, भोटेकोसी बिच, सुकुटे फन बिच, स्यान्डी बिचजस्ता रिसोर्टमा आन्तरिक पर्यटकको भिड नै लाग्छ । 

सुकुटे बिच एड्भेन्चर रिसोर्टमा मात्रै शुक्रबार र शनिबार ६ सय पर्यटक आउँछन् । एउटै होटेलले दैनिक १० देखि १५ लाखसम्म व्यापार गर्छन् । ‘सुकुटे क्षेत्र आन्तरिक पर्यटकको हब नै हो । यहाँ साहसिक खेलदेखि मनोरञ्जको व्यवस्थापन राम्रो गरिएको छ,’ सुनकोसी बिचका सञ्चालक अन्जान खड्काले भने । आन्तरिक पर्यटकको रोजाइले सुकुटेमा आर्थिक गतिविधि पनि राम्रो भएको उनको भनाइ छ । 

दोलखाको कालिञ्चोक, छिमेकी चीनसँग जोडिएको तातोपानी धारा र भोटेकोसीको पर्यटकीय क्षेत्र भैरवकुण्ड गएर आउने पर्यटक पनि सुकुटेका रिसोर्टमा रात बिताउँछन् । गर्मीको मौसममा सुनकोसी नदीमा र्याफ्टिङ र स्विमिङ गर्दै रमाइरहेका पर्यटकका हुल देख्दा स्थानीय पनि खुसी छन् । रामेछाप, दोलखा र जिल्लाकै विभिन्न स्थानबाट राजधानी हिँडेका यात्रुवाहक बस र ढुवानी गाडीका मानिसले बिहान र दिउँसोको खाना, खाजा यहीँ लिने भएकाले बिहानैदेखि सुकुटे क्षेत्रमा भिड लाग्छ । 

See More On

सुझावित समाचार