दुबई तथा नेपालमा ठगी गर्दै आइरहेका इन्फिनिटी ग्लोबल ट्रेडर्सका सञ्चालकले सदस्यहरूको लगानी रकम फिर्ता गर्ने आश्वासन दिएका छन् । बिहीबार ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाउँदै कम्पनीले नयाँ योजना ल्याएको भन्दै सबै सदस्यहरूलाई धैर्य गर्नसमेत आग्रह गरेका छन् । नयाँ पत्रिकाले बिहीबार इन्फिनिटीले दुबईमा रहेका कामदारमाथि ठगी गरेको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि भूमिगत रहेका सञ्चालकहरूले सदस्यहरूलाई यस्तो म्यासेज पठाएका हुन् ।
आगामी दिनमा नेटवर्कमा व्यवसाय गर्न नचाहने सदस्यहरूलाई अप्रिल महिनाभित्रमा साँवा रकम फिर्ता गरिने बताएका छन् । त्यस्तै, डिसेम्बरसम्ममा नेटवर्कमा जोडिएका सदस्यलाई आगामी १० दिनभित्रमा क्रिप्टोमा जोडिनेसमेत बताएका छन् । साथै, आगामी दिनमा नेटवर्कमा जोडिएर व्यवसाय गर्न चाहने सदस्यलाई भने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै म्यासेज गरेका छन् । तर, यसका लागि सदस्यले पुनः लगानी गर्नुपर्ने सर्तसमेत राखेका छन् ।
नेटवर्कमा जोडिएर व्यवसाय गर्न चाहने सदस्यले पाँच सयदेखि एक हजार डलरसम्म फेरि लगानी गर्नुपर्ने बताएका छन् । साथै, इमार खरिद नगरेका लगानीकर्तालाई इमार तत्काल खरिद गर्नसमेत प्रेरित गरेका छन् । ‘अहिलेसम्म इमार खरिद नगरेका सदस्यले इमार खरिद गर्नुहोला । अब यो तीनवटा एक्सचेन्जमा सूचीकृत हुँदै छ । त्यसपछि यसको मूल्य ह्वात्तै बढ्नेछ । त्यसैले छिटो खरिद गर्नुहोस्,’ भ्वाइस म्यासेजमा भनिएको छ ।
पीडित सदस्यहरू मानसिक समस्यामा, कोही सम्पर्कविहीन
इन्फिनिटीबाट आफू र आफन्तको लाखाैँ रकम डुबाएका सदस्यहरू अहिले मानसिक तनावमा छन् । कतिपय सदस्यहरू घरबार छोड्न बाध्य भएका छन् । कतिपय सदस्य सम्पर्कविहीन भएको पीडितहरू नै बताउँछन् ।
यो व्यवसायमा आफन्त र साथीबाट नै धेरैजना जोडिएका छन् । तर, कम्पनीले रकम फिर्ता नगरेपछि उनीहरू चपेटामा परेका हुन् । ‘मेरो रकम पनि आएको छैन । मेरो विश्वासमा परी लगानी गर्ने मेरो साथी र आफन्तको पनि आएन । अहिले म उनीहरूको नजरमा अपराधी भएको छु । म पनि त उनीहरूको विश्वासमा परेँ । यसरी ठगिएला भन्ने कहाँ सोचियो र ?’ एक पीडितले बताए । कतिपय सदस्यले आफ्नो घरबार नै बैंक धितोमा राखी लगानी गरेका छन् । केही सदस्यले सहकारीबाट चर्को ऋण लिएर लगानी गरेका छन् । यस्ता पीडित सदस्यहरू अहिले सम्पर्कविहीन हुनुभएको पीडित संगीता राई बताउँछिन् ।
पूर्वी नेपालमा सञ्चालक सूर्य खरेलले व्यवसाय विस्तार गरिरहेको पीडितहरू बताउँछन् । दुबईमा र नेपालमा हजारौँ व्यक्ति यो नेटवर्कबाट ठगिए पनि सार्वजनिक हुन नखोजेको पीडित विनोद पराजुलीले बताए । नेपाल सरकारले डिजिटल करेन्सीलाई बन्देज गरेपछि आफू पनि कारबाहीको दायरामा परिने हो कि भन्ने सबैलाई डर भएको उनको भनाइ छ । ‘तर, कुनै पनि सदस्यले यो अवैध भएको थाहा पाएर लगानी गरेका छैनन् । उनीहरूले उच्च प्रतिफल र राम्रा–राम्रा योजना देखाएपछि नेपाली कामदारहरू ठगिएका हुन्,’ उनले भने । इन्फिनिटीका सञ्चालकले करोडौँ रकम लुटेर नेपालमा लगानी गरेको छ । ‘नेपाल सरकारले त्यसको सम्पत्ति छानबिन गरी हामीलाई न्याय दिलाउनुपर्छ,’ उनले भने ।
अरूको मुलुकमा बसेर काम गरेकाले दुबईमा नै इन्फिनिटीका सञ्चालकविरुद्ध बोल्न नसकेको पीडित संगीता राईले बताइन् । उनले भनिन्, ‘हामीलाई नेपालीले नै ठगेको छ । यो विषयमा हामीले दुबईमा बोल्ने हो भने रोजगारदाताका अगाडि हामी नै अपराधीजस्ता हुन्छौँ । फेरि हामी दुबईमा कामदार हो । हामी धेरै समय काममा नै खटिनुपर्छ । त्यसैले ठगहरूलाई खोजी गर्न सकेका छैनौँ ।’ यसैको लाभ ठगहरूले लिएको उनको दाबी छ । काठमाडाैंकी सम्झना गडालले दुबईमा रहँदा भाइटीका लगाएका दाजु राजु जम्मरकट्टेलले यो व्यवसायको विषयमा जानकारी गराएका थिए । दाजुकै भनाइमा उनले १० लाख रुपैयाँ लगानी गरेकी थिइन् । उनले अन्य ४९ जनालाई पनि यो नेटवर्कमा जोडिसकिन् । उनको टिमले करिब ७० लाख रुपैयाँ लगानी गरेको उनले बताइन् । तर, केही रकम मात्रै फिर्ता भएको उनको गुनासो छ । तर, बिहीबार दाजु जम्मरकट्टेलले फोन गरी एक साताभित्रमा सबै रकम फिर्ता गर्ने आश्वासन दिएको उनले बताइन् । उनी भन्छिन्, ‘यति लामो समय त पर्खियौँ, अब एक साता हेरौँ न त ।’
पीडितहरूलाई धम्क्याउँदै एनआरएनए युएईका उपाध्यक्ष खतिवडा
एनआरएनए युएईका उपाध्यक्ष राजन खतिवडाले दुबईमा रहेका पीडित लगानीकर्तालाई धम्क्याउँदै आएको पीडितहरूले बताएका छन् । इन्फिनिटी व्यवसायको विरोध गर्ने र रकम फिर्ता माग्ने लगानीकर्तालाई खतिवडाले ह्वाट्सएपबाट भ्वाइस म्यासेज गर्दै धम्क्याउन थालेका छन् । व्यवसाय क्र्यास भएपछि मुख्य सञ्चालक र लिडरहरू सम्पर्कविहीन भएका छन् । लगानी फिर्ता गरिदेऊ भन्दै विरोध गर्ने लगानीकर्तालाई पन्तको संरक्षण गर्दै खतिवडाले धम्क्याउने गरेका छन् ।
राजन खतिवडाले ह्वाट्सएपमा भ्वाइस म्यासेज गरी धम्क्याउने गरेको पीडित संगीता राईले बताइन् । राईले आफू र आफ्ना साथीहरूको रकम फिर्ता गरिदिन आग्रह गर्दै नत्र कानुनी उपचार खोज्ने भनेर मुख्य सञ्चालक राकेश पन्तलाई म्यासेज गरेकी थिइन् । त्यसको प्रतिउत्तरमा राजन खतिवडाले उनलाई धम्कीपूर्ण भ्वाइस म्यासेज गरेको उनले बताइन् । उनी भन्छिन्, ‘उनीहरू कोही पनि सम्पर्कमा छैनन् । मैले राकेश पन्तलाई म्यासेज गरेकी थिएँ । तर, राजन खतिवडाले मलाई भ्वाइस म्यासेज गरी धम्क्याए ।’
त्यस्तै, राजन खतिवडाले दीप नाम गरेका अर्का पीडितलाई समेत धम्कीपूर्ण भ्वाइस म्यासेज पठाएका छन् । दीपले आफ्नो रकम फिर्ता गर्न आग्रह गरेपछि उनले धम्की दिँदै म्यासेज गरेको पीडितहरूले बताए । उनले राकेश पन्तलाई कसैले छुनसमेत नसक्ने र उनले नै सबैजनाको भाग्य परिवर्तन गरिदिएको भन्दै धम्की दिन थालेको पीडितहरूले गुनासो गरेका छन् ।
एनआरएनए युएईका अर्का उपाध्यक्ष पासाङ शेर्पाले राजन खतिवडाले दुबईमा अधिकांश कामदारलाई यस्तो सञ्जालमा पारेको बताए । उनका अनुसार थोरै समयमा धेरै नाफा गर्न सकिने भन्दै खतिवडाले व्यवसाय विस्तार गरेको उनले बताए । तर, उनले गरेको काम एनआरएनएको नियमविपरीत भएको शेर्पाको भनाइ छ । एनआरएनएको नाम बिकाएर कसैलाई पनि ठगीजस्तो कार्य गर्न छुट नभएको शेर्पा बताउँछन् ।
ठगी गरेको रकम रेस्टुरेन्टदेखि डिजिटल करेन्सीसम्ममा लगानी
इन्फिनिटीका मुख्य सञ्चालक राकेश पन्तले व्यवसायका नाममा सर्वसाधारणबाट ठगी गरेको रकम रेस्टुरेन्टदेखि डिजिटल करेन्सीसम्ममा लगानी गरेको पाइएको छ । उनले दुबईमा नै ओरन्टो भेराइटी रेस्टुरेन्ट र ओरन्टो ट्राभल सञ्चालन गरेका छन् । यसअघि रेस्टुरेन्टमा भेटिने पन्त अहिले भने भेटिँदैनन् । दुबईमा रहेका पीडितहरू उनलाई खोज्दै रेस्टुरेन्टसमेत पुगेका थिए । तर, उनी रेस्टुरेन्टको समेत सम्पर्कमा नरहेको कर्मचारीले बताएको उनीहरूको भनाइ छ ।
त्यस्तै, पन्तले विराटनगरमा ओरन्टो मल्ट्री ट्रेडर्स कम्पनी सञ्चालनमा ल्याएका छन् । सो कम्पनीले स्यानिटरी प्याड, बेबी प्याडलगायतका सामग्री उत्पादन गर्नेसमेत बताइएको छ । साथै, पन्तले अमार नामको डिजिटल करेन्सीमा समेत लगानी गरेकोे पाइएको छ । उनले टोन ब्लकचेको प्लेटफर्म प्रयोग गरी टोकन जारी गरेका छन् । प्रत्येक सदस्यलाई जबर्जस्ती टोकनमा लगानी गर्नसमेत लगाइएको पीडितहरू बताउँछन् । उनले प्रतिटोकन एक डलरबराबर १० टोकनका दरमा सदस्यहरूलाई लगानी गर्न लगाएका छन् ।
इन्फिनिटी र यसको ठगी धन्दा
इन्फिनिटी ग्लोबल ट्रेडर्स अनलाइन नेटवर्किङ व्यवसायजस्तै हो । तर, यसमा सदस्य बनाउन अनिवार्य भने हुँदैन र यसले वस्तु तथा सेवाको बिक्री पनि गर्दैन । कम्पनीका प्रतिनिधिहरूले यसबाट दोब्बर प्रतिफल प्राप्त हुने बताउँछन् । यो कम्पनी पहिला एमसिटी (माई क्लब ट्रेडर्स)को नामबाट सञ्चालित थियो । पछि यसैलाई इन्फिनिटी राम राखियो । एमसिटीमा र इन्फिनिटीमा लगानी गर्ने प्रक्रियामा केही भिन्नता छ ।
कम्पनीले टोल डिल ग्रुप अफ कम्पनीसँग अनुबन्धित भएको बताएको छ । सो ग्रुपका विभिन्न मुलुकमा आठवटा विभिन्न व्यवसाय रहेका छन् । गोल्ड एन्ड डायमन्ड, रियल स्टेट, शिक्षा, पर्यटन, रिटेल, स्वास्थ्य र फेसनसम्बन्धी कम्पनीहरूमा लगानी भएको बताइन्छ । यसको कर्पोरेट कार्यालय थाइल्यान्ड र दुबईमा भएको बताइएको छ ।
यो व्यवसायमा आबद्ध हुन चाहने व्यक्तिले पहिला सदस्यता लिनुपर्छ । सदस्यता लिनका लागि कम्तीमा पनि पाँच सय डलर लगानी गर्नुपर्छ । लगानी गरेको रकम एक वर्षभित्रमा दोब्बरभन्दा बढी हुने भन्दै सञ्चालकहरूले दुबई, नेपाल, भारतमा समेत सदस्य बनाइरहेका छन् । कम्पनीले लगानी गरेको रकमको प्रतिदिन १ प्रतिशत रकम फिर्ता गर्दै जाने सञ्चालकहरूको प्रतिबद्धता छ । सुरु–सुरुमा लगानी गर्नेले रकम फिर्ता पाए पनि विगत सात महिनादेखि कम्पनीले रकम फिर्ता गरेको छैन । सञ्चालकहरू पनि सम्पर्कविहीन भएका छन् ।
पैसा फिर्ता आएन भने म मर्दा हुन्छ : पीडित डेभिडजंग श्रेष्ठ
मलाई जनक भट्ट भन्ने व्यक्तिले यो नेटवर्क व्यवसायमा जोेडेको हो । दुबईमा रहँदा उनीसँग चिनजान भएको थियो । मलाई भाइ–भाइ भन्थे । राम्रो रकम फिर्ता आउने सुनेपछि मैले गत वर्ष एकैपटक पाँच लाख रुपैयाँ लगानी गरेँ । त्यो पनि दिदी पर्नेसँग ऋण लिएर लगानी गरेको हो । सयकडा पाँच रुपैयाँमा लिएको ब्याज मात्रै अहिले चार लाखभन्दा बढी भइसक्यो । मलाई त एकदमै गाह्रो छ । मेरी आमा नेपालमा बिरामी हुनुहुन्छ । आमाको अपरेसन गर्नुपर्नेछ । मसँग पैसा छैन । मलाई फसाइयो । पैसा आएन भने त म मर्दा नि हुन्छ । यत्रो ऋण मैले कसरी तिर्ने ।