मंगलबार नेप्से परिसूचक ४६ दशमलव ४६ अंकले घटेर दुई हजार चार सय ५२ दशमलव शून्य ६ बिन्दुमा आइपुगेको छ । बजारमा आएको लगातारको गिरावटले लगानीकर्ता ‘प्यानिक सेलिङ’ गर्न थालेका छन् । प्यानिक सेलिङकै कारण सेयर खरिद–बिक्री रकम बढेको छ । यतिवेला लगानीकर्ता दोहोरो चेपुवामा परेका कारण प्यानिक सेलिङ गर्न थालेको ब्रोकर बताउँछन् ।
बैंकको ब्याजदर, कर तिर्नुपर्ने बाध्यता र वर्षको अन्तिम महिना भएकाले पनि प्यानिक सेल गर्न पुगेका हुन सक्ने लगानीकर्ता तथा सेयर बजार समूहका महासचिव नयन बास्तोलाले बताए । लगानीकर्ता बजार प्रवेश गर्न चाहेका छैनन्, दोहोरो चेपुुवाकै कारणले लगानीकर्ता सक्रिय हुन नसकेको अनुमान बास्तोलाको छ । अर्थतन्त्र संकटपूर्ण रहेको अवस्थाका खबर बाहिरिरहेकाले पनि लगानीकर्ता आत्तिएका छन् । सोमबार राष्ट्र बैंकले विलासी वस्तु आयातमा कर्जा दिन कडाइ गर्न बैंकका सिइओहरूलाई निर्देशनसमेत दिएको थियो । ‘अर्थतन्त्रको अवस्था गम्भीर हुन लागेको हो कि भन्ने अवस्थाले पनि सस्तो मूल्यमै लगानीकर्ताले सेयर बिक्री गरेका छन्,’ एक ब्रोकरले भने ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ५८ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्ला दिनहरूमा एक अर्बमाथिको मात्र कारोबार हुँदै आएको थियो । मंगलबार हिमालयन डिस्टिलरी कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६ करोड रुपैयाँदेखि नौ करोड रुपैयाँसम्मको सबैभन्दा धेरै कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये होटेल तथा पर्यटन समूहका सूचकबाहेक अन्य समूहका सूचक घटेका छन् । जीवन बिमा समूह, अन्य समूहका सूचक ३ प्रतिशतले घटेका छन् । फाइनान्स समूह, जलविद्युत् समूहको सूचक २ प्रतिशतमाथिले घटेका छन् भने वाणिज्य बैंक समूह, लगानीगत समूह, विकास बैंक समूह, ट्रेडिङ समूहको सूचक १ प्रतिशतमाथिले घटेका छन् ।
यस दिन १० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । लगातार सर्किट मूल्यमा कारोबार भइरहेकोे इमर्जिङ नेपालको सेयर मूल्यमा यस दिन ब्रेक लागेको छ । कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ४ प्रतिशतदेखि ६ प्रतिशतले घटेका छन् ।
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ७ प्रतिशत, युनिलिभर नेपाल तीन दशमलव २३ प्रतिशतले सर्किट लागेका कम्पनी पछि सबैभन्दा धेरै बढ्ने कम्पनीमा परेका छन् ।