मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

भारत सरकारको २५ करोड अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन तथा सबस्टेसन परियोजनाअन्तर्गतका तीनवटा सबस्टेसनको कास्कीको लहचोकमा उद्घाटन भएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको यो एक हो । 

मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलाेमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लहचोक र लेखनाथमा सबस्टेसनहरू निर्माण भएका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोगअन्तर्गत भारतको केपिटिएल लिमिटेडले र एबिबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजनाअन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिने भारतीय राजदूतावासले जनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल सरकारका वरिष्ठ अधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सो परियोजनाको उद्घाटन गरेकी हुन् । भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सहसचिव  श्रीधरण मधुसुधनन नेतृत्वको टोलीलगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । 

भारत–नेपाल ऊर्जा सहकार्यअन्तर्गत विद्युत् परियोजनाको विकास, सीमापार एवं नेपालभित्रका प्रसारण लाइनको निर्माण र ऊर्जा व्यापार पर्दछन् । ऋण सहयोगअन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ । ती परियोजनामा २२० केभी को कोसी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड रहेका छन् । छिमेकी पहिलो नीतिअनुरूप सीमापार आर्थिक कनेक्टिभिटीलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्याउने दूतावासले जनाएको छ ।

सुझावित समाचार