प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। आयोगले सोमबार धनगढीमा गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धी अन्तर्क्रियामा थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई छुट नदिइने बताए।
विगतमा आचारसंहिता कार्यान्वयन र अनुगमन प्रभावकारी नभएको तथा उल्लंघन गर्नेलाई कारबाही नगरेको भनेर आयोगमाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले यसपालि त्यसो हुन नदिने प्रतिबद्धता जनाए। ‘यसपालि पहिलेजस्तो हुँदैन। उल्लंघन गर्नेलाई छुट दिइन्न, ठाउँको ठाउँ कारबाही गरिन्छ,’ उनले भने, ‘त्यतिले भएन भने कानुनअनुसार दण्डित पनि गर्छौँ।’ उनले आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन सबै तहमा अनुगमन समिति गठन गरिनेसमेत जानकारी दिए।
दलका प्रतिनिधिसमेत सहभागी गराइने अनुगमन समितिको सिफारिसका आधारमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै कारबाहीको निर्णय गरिने प्रमुख आयुक्त थपलियाले बताए। कानुनमा भएको व्यवस्थाअनुसार नै उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरिएको उनले दोहोर्याएका छन्। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि उनले सरकार, राजनीतिक दल, संघसंस्थालगायत सबैलाई आग्रह गरेका छन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न आवश्यक रहेको थपलियाले बताए। ‘आचारसंहिता कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने परीक्षणको कडीमा आयोग छ,’ उनले भने। व्यक्ति, दल, संघसंस्थाका लागि फरकफरक व्यवस्था गरिएको तथा विस्तृत भएकाले यसपालिको आचारसंहिता विगतको भन्दा फरक रहेको थपलियाले बताए ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक प्रणालीमा हुने भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्ने सीमालाई कडाइका साथ पालना गराइनुपर्ने बताए। सबैले बराबरी अवस्थामा चुनाव लड्ने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। निर्वाचन आयोगले सबै दलको सहमतिमा आचारसंहिता ल्याएको उल्लेख गर्दै श्रेष्ठले यसको कार्यान्वयनको दायित्व पनि सबैको भएको बताए।
‘निर्वाचनको स्वीकार्यता र सहभागिता बढाउने, कम खर्चिलो बनाउने, बदर मत घटाउने र निर्वाचनलाई निर्वाचनजस्तो बनाउने हो भने आचारसंहिता पालना हुनुपर्छ,’ उनले भने, ‘यसको पालना गर्नु सबैको साझा दायित्व हो।’ आचारसंहिता कार्यान्वयन गर्न नसकेको भनी आयोगलाई मात्र दोष दिन नहुने उनको भनाइ थियो।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अहिलेको निर्वाचन प्रणालीमै समस्या रहेको बताए। ‘निर्वाचन प्रणालीमा समस्या छ, यो हामी सबैले बुझेका छौँ,’ उनले भने, ‘संवैधानिक रूपमा सुधार गर्नुपर्ने भए तयार हुनुपर्छ। प्रणालीमा सुधार गरेर कमजोरी सुधार गर्न कानुनमा सुधार गर्नुपर्छ।’
निर्वाचन आयोगका पूर्वसचिव बेगेन्द्र शर्मा पौडेलले आचारसंहित कानुनी मात्र नभएर नैतिक विषय पनि भएकोले सबैले पालना गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागी यहाँका नागरिक अगुवा र राजनीतिकर्मीले आयोगले विगतमा निर्वाचनमा आचारसंहिता ल्याउने, तर प्रभावकारी रूपमा कार्यान्वयन भने गर्न नसकेको भन्दै अहिले पनि कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका थिए। निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिता कार्यान्वयनलाई कडाइ गर्नुपर्ने उनीहरूको माग छ।