महाकाली नदीमा भारतले पुन बलमिच्याइँ सुरु गरेको छ । दार्चुला सदरमुकाम खलंगाअगाडि महाकालीको धार नै परिवर्तन गर्ने गरी संरचना बनाइरहेको भारत नेपालको विरोधपछि रोकिएको थियो । तर, पुनः नेपालतर्फ क्षति पुग्ने गरी एकतर्फी सीमानदीको धार परिवर्तन गर्न थालेको छ । एक साताअघि मात्रै दुई देशका स्थानीय प्रशासनबीच द्विपक्षीय सहमति मात्रै तटबन्ध निर्माण गर्ने सहमति भएको थियो । त्यसविपरीत भारतले शनिबारदेखि खलंगा उत्तरतर्फको कलोन क्षेत्रमा नेपालतर्फको तटबन्ध भत्किने गरी महाकालीको धार फर्काउने काम सुरु गरेको छ । नदी पार गर्दै नेपाली क्षेत्रमै पुगेपछि आइतबार स्थानीय प्रशासनले भारतीय एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएको छ ।
महाकाली नगरपालिका– १ कलोन क्षेत्रको नदीमा ढुंगा निकालेर धार परिवर्तन गरिरहेको भारतीय एक्स्काभेटरको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘कलोन क्षेत्रमा भारतीय एक्स्काभेटर नेपालतर्फ नै पुगेपछि सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले चाबी नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘एक साताअघि मात्रै दुई देशका स्थानीय प्रशासनबीच द्विपक्षीय सहमतिमा मात्रै तटबन्ध निर्माण गर्ने सहमति भएको थियो । तर, त्यसपछि पनि भारतले नेपालतर्फको तटबन्ध भत्किने गरी महाकालीको धार फर्काउने कार्य जारी राखेपछि सशस्त्र प्रहरी परिचालन गरेर साँचो नियन्त्रणमा लिइएको हो ।’
उनका अनुसार नेपाली क्षेत्रमा प्रवेश गर्न भारतले कुनै अनुमति लिएको थिएन । ‘नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको देखियो । हाम्रो बाटो प्रयोग गर्न अनुमति लिनुपर्ने हुन्छ, जुन लिएको थिएन,’ प्रजिअ उपाध्यायले भने ।एउटा चाबी नियन्त्रणमा लिए पनि चालकले अर्को चाबी प्रयोग गरेर एक्स्काभेटर भारततर्फ नै लगेको सशस्त्रका एक अधिकारीले बताए । ‘स्थानीयको विरोधका बाबजुत र दुई देशका अधिकारीबीचको सहमतिविपरीत भारतले पटक–पटक जबर्जस्ती गरेपछि चाबी नियन्त्रणमा लिइएको हो । चाबी हामीसँगै छ । तर, अर्को चाबी प्रयोग गरेर एक्स्काभेटर भारततर्फ नै लगिसकेका छन्,’ ती अधिकारीले भने ।
२४ फागुनमा दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा पनि नेपालतर्फ भारतीय जेसिबी प्रवेश गरेको थियो । स्थानीयले विरोध गर्दा भारतीयले आक्रमण गरेपछि दुईतर्फी ढुंगा हानाहान भएको स्थानीय सुरज जोशीले बताए । ‘दुई देशका नागरिकबीच सम्बन्ध बिग्रिरहेको छ, तर यो विषयमा सरकार अझै गम्भीर देखिँदैन,’ उनले भने । बंगाबगडको ढुंगा हानाहानपछि ५ चैतमा दुई देशका अधिकारीबीच वार्ता भएको थियो । दार्चुलाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र भारत पिथौरागढ धार्चुलाका एसडिएम अनिल शुक्लाबीच दुई पक्षको सहमतिमा मात्रै तटबन्ध निर्माण गर्ने सहमति भएको थियो । भारतले नदीमा एकोहोरो एक्स्काभेटर नलगाउने तथा नेपालतिर क्षति हुने गरी संरचना नबनाउने सहमति भएको थियो । तर, फेरि नेपाली पक्षलाई कुनै जानकारी नै नदिई एक्स्काभेटर पठाएको गुनासो स्थानीयले गरेपछि दार्चुला प्रशासनले सशस्त्रलाई कलोन क्षेत्रमा पठाएको थियो ।
नेपालतर्फको तटबन्ध निर्माण अलपत्र, स्थानीयले जिल्ला प्रशासनमा गराए ध्यानाकर्षण
नेपालमा असर पर्ने गरी पारिपट्टि भारतले धमाधम तटबन्ध बनाइरहेका वेला कलोन क्षेत्रमा नेपालतर्फको तटबन्ध निर्माण योजना भने अलपत्र परेको छ । कलोन क्षेत्रमा एक सय १० मिटर र श्रीबगड क्षेत्रमा ५० मिटर लामो आठ फिट अग्लो तटबन्ध बनाउन ०७५ मा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको थियो । ०७७ मा सक्ने गरी पाएको ठेक्काको यही चैतसम्म म्याद थपिएको छ । तर, श्रीबगड क्षेत्रमा केही काम भए पनि कलोन क्षेत्रमा भने सुरु भएको छैन । पटक–पटक ताकेता गर्दा पनि काम नगरेको महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका सूचना अधिकारी इन्जिनियर स्मित श्रेष्ठले बताए । यो ठेकेदार कम्पनी डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर एवं कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको हो ।
ठेकेदारले तटबन्ध निर्माण अलपत्र पारेपछि स्थानीयले पनि आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा ध्यानाकर्षण गराएका छन् । वर्षायाममा नदीको धार नेपालतर्फ फर्किएर क्षति पुग्ने जोखिम बढेको कलोनका स्थानीय सुरेन्द्रराज जोशीले बताए । कलोन क्षेत्रको महाकाली नदी किनारमा ग्याबिन जालीको तटबन्ध निर्माण गरिएको भए पनि गत बर्खामा नदीले बगाएको थियो । एकातर्फ भारतले निरन्तर नेपालको ढुंगा लगेर नदीको धार परिवर्तन गर्ने, अर्कोतिर नेपालको तटबन्ध नबन्ने हो भने सदरमुकाम पूरै जोखिममा पर्ने स्थानीयको चिन्ता छ ।
नदीको आठ मिटरभित्रसम्म अतिक्रमण गरेर बनाउँदै छ तटबन्ध
दार्चुला सदरमुकाम खलंगापारिदेखि कलोन क्षेत्रसम्म महाकाली किनारमा भारतले एक किलोमिटर लामो तटबन्ध निर्माण गरिरहेको छ । नदी क्षेत्र नै अतिक्रमण गरेर तटबन्ध निर्माण गरिरहेको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख कमलसिंह महतले बताए । ‘अहिले बनाइरहेको तटबन्ध पुरानो तटबन्धभन्दा आठ मिटर नदीभित्र पसेको छ,’ उनले भने । अहिलेको तटबन्ध बजार क्षेत्रलाई लक्षित गरेर बनाएको महतको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय भन्छन्–नदीको धार परिवर्तन गर्दै भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमै पुग्यो
यसअघि नै भारतले एकतर्फी रूपमा महाकालीको धार परिवर्तन गरेर नेपालतर्फ फर्काउने काम सुरु गरेपछि विरोध भएको थियो । पछिल्लोपटक एक साताअघि मात्रै हाम्रोतर्फबाट तत्कालीन सहायक सिडिओ शिवराज जोशी र भारततर्फबाट पिथौरागढ जिल्लाका एसडिएम अनिल शुक्लासहितको छलफलमा तटबन्धको काम द्विपक्षीय सहमतिमा मात्र अघि बढाउने सहमति भएको थियो । सीमानदीमा एकतर्फी एक्स्काभेटर नलगाउने तथा नेपालतिर क्षति हुने गरी संरचना नबनाउने सहमति भएको थियोे । तर, फेरि हिजो (शनिबार)देखि नेपाली पक्षलाई जानकारीसमेत नदिई भारतले सदरमुकाममाथिको कलोन क्षेत्रको महाकालीमा एक्स्काभेटर लगाएर नेपालतर्फको तटबन्धसमेत भत्किने गरी महाकालीको धार परिवर्तन गर्न थाल्यो । स्थानीयले गुनासो गरेपछि सशस्त्र प्रहरी परिचालन गरेर एक्स्काभेटरको चाबी नियन्त्रणमा लिएका हौँ । ढुंगा निकाल्दै धार परिवर्तन गरिरहेको भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमै पुगेको थियो ।
कानुनमन्त्री बडूको आपत्ति
भारतले जबर्जस्ती तटबन्ध बनाइरहेको विषयमा दार्चुलाका सांसद तथा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले केही दिनअघि गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री नारायण खड्काको ध्यानाकर्षण गराएका थिए । परराष्ट्रमन्त्री खड्काले यसबारे नेपालको सरोकार भारतलाई सुनाएको बताए पनि भारतले निर्माण रोकेको छैन । दार्चुलाकै अर्का सांसद गणेशसिंह ठगुन्नाले महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भइरहेको भारतीय तटबन्ध निर्माण रोकिनुपर्ने बताए । ‘अहिले भारतले जुन प्रकारको काम गरेको छ, यसले नेपाललाई क्षति पुर्याउँछ । यो काम तुरुन्त रोक्न पहल गरिनुपर्छ,’ उनले भने ।