शनिबार मात्र २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजनकको दाबी
पोखरामा जारी १७औँ लेखनाथ महोत्सवमा दर्शकको ओइरो लागेको छ । कोरोना महामारी कम भएसँगै महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । २६ फागुनदेखि सुरु भएको महोत्सवमा शनिबार मात्र २५ हजार दर्शकले अवलोकन गरेका छन् ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सात तालको बगैँचा सहर पोखराको लेखनाथमा १७औँ संस्करणको लेखनाथ महोत्सव जारी छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, नेपाल पर्यटन बार्डको प्रवर्द्धन तथा विभिन्न संघसंस्थाहरूको सहयोग र सहभागितामा सुरु महोत्सव ७ चैतसम्म चल्नेछ ।
अपेक्षा गरेभन्दा धेरै दर्शक

शनिबार सार्वजनिक बिदाको दिन परेकाले दर्शकहरूको घुमफिर र रोजाइमा महोत्सव पर्दा एकै दिन आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शक आएपछि व्यवस्थानमा समेत हम्मेहम्मे परेको थियो । १० करोडको कारोबार गर्ने लक्ष्य राखेको महोत्सवमा शनिबार मात्र ५० लाख रुपैयाँको कारोबार भएको प्रचार संयोजक एवं आयोजक संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले जानकारी दिए ।
शनिबार चर्चित लोकदोहोरी गायक राजु परियार र नौ वर्षीया बाल गायिक आयषा गौतम, साँझमा चर्चित कार्यक्रम प्रस्तोता, हास्यकलाकार एवं गायक सन्दीप क्षेत्री र हास्य कलाकार राजा राजेन्द्रले विभिन्न प्रस्तुतिमार्फत दर्शकलाई मनोञ्जन दिलाएका थिए ।
महोत्सवमा तीन सय स्टल राखिएको छ । दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । १० करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको छ । संकलित रकम प्रदर्शनी स्थलको स्तराेन्नति, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलगायतका सामाजिक कार्यमा खर्च गरिने आयोजक संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।