नेपाल आउने पर्यटकले अब ‘क्युआर कोड’बाट वित्तीय कारोबार गर्न पाउने भएका छन्। बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोन पेले भिसा नेटवर्कमा जोडिएका पर्यटकलक्षित गरी ‘नयाँ क्युआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो।
फोनपे र भिसाको कारोबारलाई सहज बनाउन नबिल बैंकले सहकार्य गरेको छ। फोन पेले भिसासँगको सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ‘क्यूआर’ बाट भुक्तानी गर्न सक्ने गरी क्युआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्याएको हो।
फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरूले फोन पेको क्युआर कोडमार्फत भुक्तानी सजिलै गर्न सक्ने बताए।
क्युआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्युआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ। पछिल्लो समय फोनपेले नेपालका अधिकांश ठूला मोबाइल वालेट खल्ती, प्रभु पे, आइएमई पे, ई–सेवालगायतलाई आफ्नो नेटवर्कमा भित्र्याउँदै आएको छ। आगामी दिनमा नेपाली बैंकहरूको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट गर्ने फोनपेले जनाएको छ।