डिजिटल माध्यमबाट दुई अर्बसम्मको राजस्व भुक्तानी गर्न सकिने

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको एनसिएचएल ब्यांक सेन्ट्रल तथा कर्पोरेट पे प्रणालीमार्फत गरिने राजस्व भुक्तानीसम्बन्धी अन–अस (पठाउने र पाउने बैंक–वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा बढाएको छ । कम्पनीले अधिकतम दुई अर्बसम्मको राजस्व डिजिटल माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो । 

यसअघि कम्पनीले विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवं नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कारोबार सीमा बढाएको थियो । अब बैंक–वित्तीय संस्थाका ग्राहकहरूले राजस्व भुक्तानी गर्दा एनसिएचएल बैंक सेन्ट्रलमार्फत अन–असमा दुई अर्ब रुपैयाँसम्म र कर्पोरेट पेमार्फत पब्लिक नेटवर्कबाट अन–असमा एक करोड रुपैयाँ तथा प्राइभेट नेटवर्कबाट अन–असमा पाँच करोड रुपैयाँसम्म गर्न सक्ने जनाइएको छ । वृद्धि गरिएको प्रतिकारोबार सीमा पठाउने र पाउने बैंक–वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुने तथा पाउने र पठाउने बैंक–वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको ननरियल टाइम भुक्तानी ३० करोड रुपैयाँसम्म र रियल टाइम भुक्तानी २० लाख रुपैयाँसम्म नै लागू हुने कम्पनीले जनाएको छ ।   

थप गरिएको कारोबार सीमाले सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने कम्पनीले अपेक्षा गरेको छ । विशेषतः अन्तरिक राजस्व विभाग, भन्सार विभागजस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायका लागि यो सुविधा थप प्रभावकारी हुने जनाइएको छ । एनसिएचएलले हाल कनेक्ट आइपिएस, कर्पोरेट पे, बैंक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ तथा विभिन्न मोबाइल वालेटमार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएको थियो । चालू आर्थिक वर्षको फागुन महिनाको मध्यसम्म एनसिएचएलमार्फत ३४ अर्ब रुपैयाँबराबरको राजस्व संकलन भइसकेको कम्पनीले जनाएको छ । 
 

सुझावित समाचार