दुई सातामै डन्डीको मूल्य ३० रुपैयाँ बढेर १३५ सम्म पुग्यो, कोइलाको मूल्य दोब्बर

रुस र युक्रेनबीचको युद्धले दैनिक उपभोग्य सामान मात्रै होइन, भारतबाट आयात हुने बिजुली, अमेरिकी डलरदेखि सुन, चाँदी, फलाम, कोइला, पेट्रोलियम पदार्थसम्मको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

रुस र युक्रेनको जुधाइ, नेपालमा मूल्यवृद्धिको मिचाइँ

निर्माणको सिजनमै बजारमा डन्डीको मूल्य एकाएक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा फलाम/बिलेटको मूल्य अत्यधिक बढेपछि त्यसको अछुतोमा नेपाली बजार पनि रहेन । बुधबार नेपाली बजारमा डन्डी प्रतिकिलो एक सय ३५ रुपैयाँँसम्ममा कारोबार भइरहेको छ । रसिया–युक्रेन युद्ध सुरु भएपछि नेपालमा डन्डीको भाउ किलोमै ३० रुपैयाँँ बढिसकेको नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले बताए । पहिला काठमाडौं उपत्यकामा किलोको १००–१०५ रुपैयाँँ हाराहारी मूल्यमा बिक्री भइरहेको डन्डी अहिले किलोको १२५ देखि १३५ रुपैयाँँसम्म बिक्री भइरहेको व्यवसायी बताउँछन् । ‘हामीसँग पुरानो सामान स्टक भएकै कारण १२५–१३० रुपैयाँँमा बिक्री गर्न सकेका हौँ’ अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले भने, ‘बिलेटको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार डन्डीको मूल्य किलोको १४२–१४५ रुपैयाँँ पर्न आउँछ ।’

अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्य एक सातामै डेढ सय अमेरिकी डलरले वृद्धि भइसकेको संघका अध्यक्ष न्यौपानेले बताए । ‘पहिला अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्य ५५० अमेरिकी डलर थियो, अहिले आठ सय डलर पुगिसक्यो’ न्यौपानेले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण स्वदेशी बजार प्रभावित भइरहेको छ ।’ नेपालमा डन्डी बनाउन आवश्यक कच्चा पदार्थ स्पन्ज आइरन र बिलेट भारतबाट आयात हुन्छ । यही समयमा कोइला, फर्नेस आयल र डलरको भाउ पनि इतिहासकै उच्च बिन्दुमा पुगेको छ । डन्डीको भाउ बढाउन फलामसँगै कोइला, फर्नेस आयल र डलरको भूमिका महत्वपूर्ण छ ।

नेपाली बजारमा ब्रान्डअनुसार डन्डीको मूल्य पनि फरक–फरक छ । उपत्यकामा उपलब्ध अधिकांश ब्रान्डका डन्डीको उपभोक्ता मूल्य प्रतिकिलो १२५ देखि १२७ रुपैयाँँसम्म रहेको छ । पुराना डन्डी उद्योगहरू हिमाल आइरन, पञ्चकन्या र हामा स्टिलले प्रतिकिलो ८–१० रुपैयाँँसम्म बढी मूल्य राखेर बिक्री गर्दै आइरहेका छन् । संघका अध्यक्ष न्यौपानेले भने, ‘अहिलेसम्म डन्डीको भाउ किलोको ११२ रुपैयाँँभन्दा माथि पुगेको थाहा थिएन, अहिलेको मूल्य सम्भवतः इतिहासकै उच्च हो ।’
रसिया र युक्रेन विश्वकै ठूला फलाम निर्यातक मुलुक हुन् । त्यहाँ युद्ध सुरु भएपछि विश्वबजारमा फलामको आपूर्ति खुम्चिनुका साथै ठूला मुलुकहरूले स्टक राख्न थालेका छन् । जसले गर्दा फलामको मूल्यमा दबाब पर्न थालेको व्यवसायीहरू बताउँछन् । नयाँ कच्चा पदार्थ आयात गरेर डन्डी उत्पादन गर्दा मूल्य १४५ हाराहारी पुग्ने अम्बेका अध्यक्ष न्यौपानेले बताए ।

 कोइलाको मूल्य दोब्बर
नेपाली बजारमा कोइलाको मूल्य पनि झन्डै दोब्बर भएको छ । कोइलाको आपूर्ति र मूल्यमा चाप परिरहेको वेलामा रसिया–युक्रेन युद्धले थप दबाब परेको अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले बताए । २० रुपैयाँँमा आयात भइरहेको कोइलाको मूल्य अहिले ४० रुपैयाँँ पर्न थालेको छ । ‘हामीले कोइला टनको २५० देखि ३०० डलर तिरेर आयात गरिरहेका थियौँ, अहिले चार सय डलर नाघिसकेको अवस्था छ’ उनले भने, ‘यहीबीचमा कोइलाको मूल्य पनि डेढ सय अमेरिकी डलर बढिसकेको छ ।’बिलेट, डन्डी, सिमेन्टलगायत वस्तु उत्पादनमा कोइलाको प्रयोग हुँदै आइरहेको छ । यसले पनि मूल्य बढाउन दबाब सिर्जना गरेको देखिन्छ ।

 फर्नेस आयलको मूल्य २० रुपैयाँँ बढ्यो
अन्तर्राष्ट्रिय बजारमा फर्नेस आयलको मूल्य बढेपछि नेपाल पनि प्रभावित भएको छ । पछिल्लो समय फर्नेस आयलको मूल्य लिटरको २० रुपैयाँँ बढिसकेको अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘हामीले फर्नेस आयल ल्याउन लिटरको ७५ रुपैयाँँ तिर्नुपरेको छ, अझ इन्डियन फर्नेस आयल ल्याउँदा ८० रुपैयाँँ पर्न आउँछ ।’ सिमेन्ट, डन्डी, बिलेटलगायत उत्पादनमा फर्नेस आयल नभइहुँदैन ।

आन्तरिक जहाजको भाडा पनि बढेको बढ्यै
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य लिटरमै १० रुपैयाँँका दरले बढाउन थालेपछि हवाई भाडा पनि महँगिएको छ । आयल निगमले नयाँ मूल्य सार्वजनिक गरेपछि नेपाल वायुसेवा सञ्चालक संघले पनि नयाँ भाडादर सार्वजनिक गरिहाल्छ । पछिल्लो समय निगमले हरेकपटक हवाई इन्धनमा १० रुपैयाँँका दरले मूल्य बढाइरहेको छ । कात्तिक मध्यतिर प्रतिलिटर ८६ रुपैयाँँ रहेको हवाई इन्धनको मूल्य १० रुपैयाँँका दरले बढेर १३६ रुपैयाँँ पुगिसकेको छ ।  

सुझावित समाचार