कालीमाटी गाउँपालिका– १ लक्ष्मीपुरनिवासी १९ वर्षीया केसरी रागुको माघ १८ गते उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भयो। खकारमा रगत देखिएपछि उनी माघ ७ गते लक्ष्मीपुर स्वास्थ्य चौकी गएकी थिइन्। सामान्य जाँचपछि स्वास्थ्य चौकीले उनलाई जिल्ला अस्पताल सल्यान पठायो। सल्यान अस्पतालले पनि सोही दिन उनलाई नेपालगन्ज रिफर गर्याे।
कमजोर आर्थिक अवस्थाका कारण जिल्ला अस्पतालबाट घर फर्किएको केसरीका पति संयोगले बताए। आर्थिक अभावले जिल्लाबाहिर जान नसकेर घरमै बसे पनि प्रसूति बेथाले च्यापेपछि केसरीलाई फेरि जिल्ला अस्पताल लगियो। फागुन १७ देखि पेट दुख्न थाले पनि उनलाई फागुन १८ गते मात्रै अस्पताल लगियो। शल्यक्रियाका क्रममा उनको सल्यान अस्पतालमा मृत्यु भयो।
प्रसूति बेथाले च्यापेर बेहोस भएकी उनलाई अस्पताल ल्याउन ढिलाइ भएकाले मृत्यु भएको अस्पतालले जनाएको छ। ‘उनलाई इक्लामेसिया भएर बेहोसी अवस्थामा अस्पतालमा ल्याइएको थियो,’ जिल्ला अस्पताल सल्यानकी इन्डोर इन्चार्ज सुलोचना महर्जनले भनिन्, ‘शल्यक्रिया गरेर बच्चालाई निकालियो, जन्मिँदा बच्चाको ढुकढुकी चलिरहेको थियो, तर तत्कालै मृत्यु भयो।’ उनलाई स्वास्थ्यकर्मीले चैत १४ गते प्रसूतिको डेट दिएको जानकारी दिँदै उनले भनिन्, ‘प्रसूति बेथा लागेकै समयमा अस्पताल पुर्याउन सकेको भए केही सम्भावना थियो।’
प्राइभेट मेडिकलबाट डाक्टर बोलाएर गरिएको थियो शल्यक्रिया
घटना भएको दिन अस्पतालमा मेडिकल अधिकृत डा. असिम प्रजापति र स्टाफ नर्स रिना बानियाँ थिए। ‘बेहोस अवस्थामा प्रसूति केस आएपछि अन्य डाक्टरहरू पनि आउनुभयो,’ ओटीसमेत हेर्ने गरेकी स्टाफ नर्स बानियाँले भनिन्, ‘केही साथीले जिल्ला प्रशासन कार्यालयमा फोन गर्नुभयो, केहीले श्रीनगरस्थित परोपकार मेडिकलमा फोन गरेर जिपी डाक्टर मेसक अधिकारीलाई बोलाउनुभयो।’
कार्यालयमा तालिमप्राप्त अन्य डाक्टर नभएपछि प्राइभेट मेडिकलबाट डाक्टर बोलाइएको उनले बताइन्। जटिल खालको केस आएकाले बाहिर पठाउनेसमेत तयारी गरिएको अस्पतालले जनाएको छ। जटिल खालको प्रसूतिको केस आएकाले हेलिकाेप्टरमार्फत उद्धार गर्ने भनी आफूलाई अस्पतालले जानकारी गराएको केही समयमै आमा–बच्चा दुवैको मृत्यु भएको खबर पाएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए। ‘अस्पतालमा त्यो केस कति वेला आयो थाहा भएन, तर मैले माथिल्लो निकायसँग समन्वय गर्दै गरेको पाँच मिनेटमै मृत्युको खबर आएको हो,’ उनले भने।
डाक्टर अभावमा रिफर, गरिबहरू समस्यामा
कुनै समय अन्य जिल्लाबाट आएका जटिल खालका शल्यक्रिया सफल गरेको सल्यान अस्पतालमा अहिले भने कर्मचारी अभावमा प्राइभेट मेडिकलबाट डाक्टर बोलाएर शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ। रुकुम, रोल्पालगायतका जिल्लाका बिरामीसमेत सल्यान अस्पतालमा उपचारका लागि आउने गर्थे। तर, पछिल्लो समय जिल्ला अस्पताल सल्यानमा चिकित्सकको अभाव छ।
आठजनाको दरबन्दी रहेको यो अस्पताल अहिले एकजना डाक्टरको भरमा सञ्चालन भइरहेको छ। बिरामीको चाप अत्यधिक हुने र एकजना डाक्टरलाई भ्याइनभ्याई हुने भएकाले जटिल प्रकृतिका समस्याहरू रिफर गरिने अस्पताल स्रोतको भनाइ छ। यसको प्रत्यक्ष मारमा कमजोर आर्थिक अवस्था भएका जिल्लावासीहरू परेका छन्।