जिल्लाका अधिकांश निजी विद्यालयले पुराना गाडीमा विद्यार्थी बोक्दा उनीहरूकाे ज्यान जोखिममा परेको छ । सरोकारवाला निकायले ध्यान नदिएका कारण रौतहटका अधिकांश स्थानमा खुलेका निजी विद्यालयले २० वर्षे पुराना थोत्रा बसमा विद्यार्थी बोक्ने काम गरेका हुन् । चन्द्रनिगाहपुर, गरुडा गौर, सुकदेव चोकलगायतका स्थानमा रहेका निजी विद्यालयले विद्यार्थी बोक्न पुराना गाडी प्रयोग गर्ने गरेका छन् ।
थोत्रा सवारीलाई धमाधम रातो नम्बर प्लेट बनाएर रौतहटमा विद्यार्थी बोक्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको जानकारहरूको भनाइ छ । बिर्तामा रहेको प्रहरी बोर्डिङ स्कुलले समेत थोत्रा बसमा विद्यार्थी बोक्ने गरेको अभिभावकहरूको भनाइ छ । २० वर्ष नाघेका थोत्रा गाडीहरू विनारोकतोक निजी विद्यालयले किनेर रातो नम्बर प्लेटमा रूपान्तरण गरिरहेका छन् । यस्ता पुराना बस बढीजसो निजी विद्यालय सञ्चालकले किन्ने गरेको पाइएकाे छ ।
कवाडीमा बेच्नुपर्ने सवारीसाधनलाई अञ्चलीकरण गर्न पनि यातायात व्यवस्था विभागले नरोकेका कारण रौतहटमा यस्ता बस निर्वाध चलेका छन् । विद्यार्थी बोक्ने अधिकांश थोत्रा बस सवारीचालक अनुमतिपत्र नभएका चालकले चलाउने गरेको पाइएको भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको ध्यान जान नसकेको सरोकारवालाको भनाइ छ । प्याब्सन मधेस प्रदेशका अध्यक्ष दीपक रेग्मीले चन्द्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी विद्यालयका नयाँ बस रहेको बताउँदै जिल्लाका अन्य स्थानमा रहेका निजी विद्यालयले समेत अबका दिनमा नयाँ बस किन्ने तयारीमा रहेको बताए ।
निजी विद्यालयहरूले सवारीचालक अनुमतिपत्र भएका चालकलाई धेरै पैसा दिनुपर्ने भएकाले सवारी चालक अनुमतिपत्र नभएका चालक राख्ने गरेको स्रोतले बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ज्ञान बहादुर माझीले निजी विद्यालयका सवारीचालकसँग सवारीचालक अनुमतिपत्र नभएको पाइएमा कडा कारबाही गर्ने बताएका छन् ।