दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ भित्री खोलामा सुरु भएको ड्याम निर्माणको काम रोकिएको छ । शिवबहादुर घर्तीको पुर्जा भएको जग्गामा ड्याम निर्माण हुन लागे पनि त्यो जग्गाको मुआब्जा नदिएपछि काम रोकिएको हो । गएको पुस अन्तिम सातादेखि सुरु भए पनि अहिले जग्गाको मुआब्जा नपाउँदा जग्गाधनीले ड्याम निर्माण कार्य रोकिदिएका छन् । ड्याम निर्माणका लागि घर्तीले आफ्नो ४ कठ्ठा १६ धुर जग्गा उपलब्ध गराएका थिए ।
जसमध्ये डेढ कठ्ठा जग्गा निःशुल्क उपल्ब्ध गराएको र बाँकी जग्गा मुआब्जा पाउने गरी उपलब्ध गराएको भए पनि अहिले मुआब्जा नपाएपछि काम रोक्नुपर्ने अवस्था आएको घर्तीले बताए ।‘हाम्रो ठाउँमा हुने विकास हो, त्यसमा मैले सहयोग गर्नुपर्छ नै विकासकै लागि भनेर मैले डेढ कठ्ठा जग्गा पनि उपलब्ध गराएँ,’ उनले भने, ‘बाँकी जग्गाको मुआब्जा दिने कुरा हो तर अहिले ऐलानी जग्गा लैजा भन्छन् ।’ आफूले पर्ती जग्गा दिने र लैजाँदा ऐलानी लैजा भन्न नसुहाउने उनको भनाइ छ । त्यति मात्रै होइन, सम्झौता गरेकोभन्दा दुई गुना बढी जग्गा मिचिएको छ । अहिले त्यहाँ उनीहरूको १० कठ्ठा जग्गा मिचिएको बताउँछन् । ‘हामीले दिएको चार कठ्ठा ६ धुर हो,’ उनले भने,‘अहिले त १० कठ्ठाभन्दा बढी जग्गा मिच्दै लिएका छन् ।’
पहिले आफूहरलाई मुआब्जा दिने भनी प्रलोभन देखाएको उनका छोरा भिपेसले गुनासो गरे । ‘हामीले गरेको सम्झौताभन्दा बढी जग्गा दाबी गर्नुहुन्छ,’ उनले भने, ‘पहिले सम्झौता गर्दा धेरै प्रलोभनमा पारेर अहिले सम्झौता भएकोभन्दा बढी जग्गा दाबी गर्नुहुन्छ ।’ आफूहरूलाई ड्याम बनेपछि १५ लाख कठ्ठा जान्छ, भनेर आश्वासन दिएकोसमेत बताए । साथै माथि ड्याम र तल आफूहरूको घर रहेको हुँदा ड्याम फुटेमा घरलाई नै जोखिम पार्न सक्नेसमेत उनको भनाइ थियो ।‘गएको वर्ष मात्रै तल एउटा ड्याम बनेको थियो, त्यो एक वर्ष नहुँदै भत्किएको थियो,’ उनले भने, ‘यो ड्याम पनि भत्किँदैन भन्ने ग्यारेन्टी छैन, त्यसैले हाम्रो सुरक्षाको ग्यारेन्टी कसले लिन्छ ?’

स्थानीयका अनुसार ड्याम भत्किँदा एक व्यक्तिलाई बगाएको थियो । पर्ती जग्गाको सट्टा आफूहरूलाई पर्ती जग्गा नै चाहिनेसमेत उनीहरूको माग छ । घरमा पनि दुईजना अपांग व्यक्ति भएकाले काम गरी खान सक्ने अवस्था पनि नरहेको भन्दै आफ्नो छाकबासको उचित व्यवस्थापन गरिदिनुपर्ने उनीहरूको माग छ । त्यहाँ ड्याम निर्माणका लागि यो वर्ष संघीय सरकारले ५ लाख मात्रै बजेट हालेको छ । गएको वर्ष त्यहाँ ड्याम निर्माणको लागि डिपिआर तयार भएको थियो । त्यो डिपिआरअनुसार त्यहाँ ड्याम बनाउने र लिफ्ट गर्ने योजना छ । त्यसका लागि तीन करोड ५४ लाख ९६ हजार बजेट लाग्नेछ । यो आर्थिक वर्षमा ५ लाख मात्रै बजेट आएको भए पनि त्यहाँ थप्नका लागि पहल भइरहेको बृहत् दाङ उपत्यका सिँचाइ डिभिजन कार्यालय दाङका सबइन्जिनियर सञ्जयकुमार यादवले बताए । उनका अनुसार त्यहाँ जग्गा धनीले असन्तुष्टि जनाएपछि काम रोक्न लगाइएको हो ।
स्थानीय तह र त्यहाँ उपभोक्ताबीच सहमति भएमा निर्माणको कार्य पुनः सुरु गर्न सकिने उनले बताए। ‘सिँचाइका लागि मुआब्जा दिने व्यवस्था छैन,’ उनले भने, ‘त्यहाँको स्थानीय सरकार र उपभोक्ताहरूबीच सहमति भएमा मात्रै हामीले काम सुरु गर्छौँ।’ शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष बुद्धिराम तिवारीले सम्झौताअनुसार नै काम भएको बताएका छन् । उनका अनुसार ४ कठ्ठा १६ धुरभन्दा बढी जग्गा पनि नमिचिएको र त्योभन्दा पश्चिमतर्फ रहेको ऐलानी जग्गा उपलब्ध गराउने सहमति भएको बताए । त्यति मात्रै नभई एकजना अपांगता भएको छोरा रहेको र उनलाई १ वर्षसम्म कम्प्युटर तालिम उपलब्ध गराउने, चौकिदार राखिदिने, माछापालनका लागि सहयोग गर्ने गरी सहमति भएको बताए ।
त्यस्तै जग्गाको मुआब्जा भनेर चारलाख दिनेसमेत सहमति भएको बताए । त्यहीअनुसार काम भइरहेको उनको भनाइ छ । त्यस्तै त्यहाँ ड्याम निर्माण गर्दा गहुँमा पनि क्षति भएकाले १० मुरी गहुँ उपलब्ध गराउनेसमेत सहमति भएको भन्दै हाल देखिएको समस्या तत्काल समाधान गरेर काम अघि बढाउनेसमेत बताए ।
त्यहाँको ड्याम निर्माण कार्य रोकिएपछि राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले चासोसमेत देखाएका छन् । ड्याम निर्माण स्थलमै पुगेर अवलोकन गर्नुका साथै दुवै पक्षसँग छलफलसमेत गरेका थिए । त्यस क्रममा उनले निर्माणमा देखिएका अवरोध तत्काल समाधान गरेर काम अगाडि बढाउनुपर्ने बताए । त्यसका लागि दुवै पक्ष सन्तुष्ट हुने खालको वातावरण तयार गर्नुपर्ने समेत बताए ।