आफूलाई ‘महामानव’ बताउने सुनसरी बराहक्षेत्रका टीकाप्रसादले पाँच सयभन्दा बढी भक्तजनलाई ‘मानवभन्दा एक चरण माथिल्लो प्राणीको रूपमा पुर्याएको’ भन्दै ५७ लाख ठगी गरेको प्रहरी र प्रशासनमा उजुरी
सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ जब्दीका टीकाप्रसाद विश्वकर्मा (लामिछाने)ले भक्तजनलाई वशमा पारेर लाखौँ ठगी गरेको खुलेको छ । उनले आफूलाई दैवीशक्तियुक्त महामानव र ईश्वरको रूप भएको दाबी गर्दै आएका छन् । विश्वकर्माले भक्तजनलाई मध्यराति सप्तकोसी नदीमा लगेर देवलोकबाट देवीदेवता प्रकट गराएर दर्शन गराउने गरेका थिए । उनले भक्तजनलाई मानवभन्दा एक चरण माथिल्लो प्राणीका रूपमा पु¥याएको दाबी गर्दै पाँच सयभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।
ठगिनेमा धरानमा बसोवास गर्ने धेरै छन् । उनीहरूले विश्वास गरेर ०६५ देखि विश्वकर्मालाई सुनचाँदी, पैसा मागेजति दिँदै आएका थिए । पूजा, गुप्तवासको नाममा लाखौँ रुपैयाँ खर्च गर्दै आएका थिए । विश्वकर्माका लागि उनीहरूले लाखौँ मूल्य पर्ने जग्गासमेत खरिद गरिदिएको धरान–८ का सीताराम मल्लले बताए ।
विश्वकर्माले भनेजति दक्षिणा नचढाए र नदिए आफैँ भष्म हुने, आफूसँग भएको दैवीशक्ति लगाइदिने धम्की दिएर पैसा लिने गरेका पीडितहरूको भनाइ छ । विश्वकर्मासँग करिब एक सय ५० जनाको टिम रहेको र उनीहरू नै विभिन्न देवीदेवता भएर मध्यराति सप्तकोसीमा प्रकट हुने गरेको तथ्य खुलेको छ । मध्यराति सप्तकोसी किनारमा प्रकट हुनेहरू बाटोमै भेटिन थालेपछि भक्तजनलाई शंका लागेर अनुसन्धान गर्न थालेको पीडितमध्येका एक मल्लले बताए ।
देवलोकमा पैसा, सुन आवश्यक पर्यो भनेर भक्तजनहरूसँग संकलन गरेर देवलोक हिँडेका विश्वकर्मा तीन महिना पुख्र्यौली घर भोजपुर गएर बसेको पत्ता लगाएका थिए । त्यसपछि आफूहरू ठगिएको महसुस गरेर भक्तजन बाबाको विरोधमा उत्रन थालेको इनरुवाका जीवन रेग्मीले बताए । एक दशकभन्दा बढी समयदेखि आफूहरू ठगिएको थाहा पाएपछि उनीहरूले प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । तर, प्रशासनले उजुरीमाथि कारबाही गर्न बेवास्ता गरेको पीडितहरूको भनाइ छ ।
मानव कमजोरी सच्याउन गुफा वास
सुनसरीको वराहक्षेत्र नगरपालिका–६ जब्दीमा महामानव वासस्थान भनेर बोर्ड नै राखिएको छ । सोहीआसपासमा गुफा बस्न अनकन्टार स्थानमा टहरा बनाइएको छ । मानवमा भएको कमजोरी सच्याउन र मानवभन्दा एक स्तर माथि पुगेर जीवन बिताउन पाइने भन्दै गुफामा तीन चरण गरेर १५ दिनसम्म राख्ने गरिएको पीडितमध्येका एक जीवन रेग्मीले बताए । हालसम्म एक सय ४० भन्दा बढीले गुफा वास बसेको बताइएको छ । पहिलोपटक पाँच दिन बसेको १२ हजार, दोस्रोपटक १० हजार, तेस्रोपटक आठ हजार रुपैयाँ लिने गरेको पीडितहरूले बताएका छन् । सबै रोगव्याधि निको हुने भन्दै पूजा गर्न लगाउने र प्रतिव्यक्ति ४० हजार रुपैयाँ असुल्ने गरेको रेग्मीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी
आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले एक साताअघि इलाका प्रहरी कार्यालय फोन नम्बरसहित किटानी जाहेरी दिएका थिए । उनीहरूले ज्योतिष शिव सेवा केन्द्रको संस्थापक भन्ने टीकाप्रसाद विश्वकर्मा, सेवा केन्द्रको अध्यक्ष मनोजकुमार पोखरेल, सेवा केन्द्रका सचिव भूपेन्द्र खतिवडा र केन्द्रकै सदस्य निलम मायामगरको नाममा किटानी जाहेरी दिइएको छ । तर, प्रहरीले जाहेरी नै लिन नमानेको पीडित सीताराम मल्लले बताए । उनहरूले विभिन्न व्यक्तिको ५७ लाख ठगी गरेको उजुरीमा उल्लेख छ । प्रहरीले बेवास्ता गरेपछि पुनः २१ पुसमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा आवश्यक कारबाही तथा अनुसन्धान गरिपाऊँ भनी उनीहरूले निवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय तहसँग समन्वय गरी कारबाही अगाडि बढाउन निर्देशन जारी भएको बताएका थिए ।
यस विषयमा महामानव बताउने विश्वकर्मासँग बुझ्ने प्रयास गर्दा उनी सम्पर्कमा आएनन् । ज्योतिष शिव सेवा केन्द्रका सचिव भूपेन्द्र खतिवडाले भने बाबालाई आफूहरूले ईश्वर मानेको प्रतिक्रिया दिए । ‘उहाँमा ईश्वरको रूप छ । लामो समय अनुसन्धान गरेर हामी बाबाको पछाडि लागका हौँ । उहाँहरूको आरोप गलत छ,’ उनले भने । विभिन्न व्यक्तिको करिब ५७ लाख ठगी दाबीको विषयमा भने खतिवडाले अस्वीकार गरे । उनीहरूले विश्वासले चढाएको पैसा भएको बताए ।