एमाले कञ्चनपुरको नेतृत्वका लागि मतदान सुरु

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। २३ पुस (शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रक्रियाबाट नेतृत्व छनाेट गर्न लागेको हो ।

सहमतिका लागि पाँच दिन नेताहरूबीच रस्साकस्सी चले पनि अन्तत: पाँच दिनपछि चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता आएको छ । मंगलबार साँझ ५ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट र वीरबहादुर थापा (पातल) बीच टक्कर हुनेछ । एमाले तत्कालीन सचिवसमेत रहेका विष्टले जिल्ला सदस्य, उपसचिव हुँदै सचिवको यात्रा तय गरेका हुन् भने थापा एमाले–माओवादी एकीकरण भई नेकपा हुँदा माओवादीबाट आएका थिए । थापा ०५ पुस ०७६देखि ओली समूहमै बसेर एमालेतिरै गएका थिए ।

थापा प्यानलबाट उपाध्यक्ष महेश पन्त, सचिव अशोककुमार चन्द, उपसचिव शेरबहादुर चन्द र ईश्वरा कुँवरले उम्मेदवारी दिएका छन् । उपसचिवमा कुँवरले दिएको उम्मेदवारी रद्द भएको छ । उनको मापदण्ड नपुगेपछि कुँवरको उम्मेदवारी रद्द भएको निर्वाचन समितिले जनाएको छ । 

एमाले पदाधिकारीका लागि दुई कार्य समितिमा बस्नुपर्ने भए पनि कुँवर ०७४ मा नेकपा हुुँदा एमालेबाट जिल्ला सदस्य आएका थिइन् । विष्ट प्यानलबाट उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, उपसचिव कर्णबहादुर चन्द, फैरु तामाङको उम्मेदवारी दर्ता भएको छ । एमाले कञ्चनपुरको एक सय १५ सदस्यका लागि दुई सय १९ ले उम्मेदवारी दर्ता गराएका थिए । एमाले कञ्चनपुरको नेतृत्व छनोटका लागि चार सय ९९ ले मतदान गर्नेछन् । 
 

सुझावित समाचार