यात्रुवाहक बस दुर्घटना हुँदा नाैमहिने शिशुको मृत्यु

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा नाैमहिने शिशुको मृत्यु भएको छ ।  सोमबार बिहान साढे ३ बजेति लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका– ५ सिसहनियाँको दालाई खोलानजिक बस दुर्घटना हुँदा भारतको मोतीहारी बस्ने असिर आलमका छोरा नानु आलमको मृत्यु भएको छ । 

वीरगन्जबाट सुर्खेत जाँदै गरेको ना.५ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा गम्भीर घाइते भएका ती शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । 

घाइते हुनेहरूमा पर्सा वीरगन्ज उपमहानगरपालिका– १६ निवासी  ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका– ६ बस्ने ३४ वर्षीय रामविनायक कुर्मी, भारत बिहार बस्ने ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलम, सुर्खेत छिन्चु नगरपालिका– ९ बस्ने १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् । त्यस्तै, बर्दियाको गेरुवा गाउँपालिका– १ बस्ने ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका– ७ बस्ने ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने ५२ वर्षीय गोरख रावत सामान्य घाइते भएका छन् ।  

घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताइएको छ । बसमा २० जना यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

सुझावित समाचार