उपसभामुखविनै सकिने भयो संसद्को कार्यकाल

सत्तापक्ष र प्रतिपक्ष कसैको पनि कार्यसूचीमा छैन उपसभामुख चयन

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण
उपसभामुखविनै सकिने भयो संसद्को कार्यकाल

फाइल तस्बिर

विपक्षीमा हुन्जेल उपसभामुख चयन गर्न दबाब दिँदै आएको कांग्रेसले सत्तारूढ भएपछि यो मुद्दा प्राथमिकतामा राखेको छैन । सत्तापक्षबाट प्रतिपक्षमा गएको एमालेले ताजा जनादेश आफूहरूको प्रमुख मुद्दा रहेको भन्दै उपसभामुख चयनको विषयमा छलफल गर्नसमेत आवश्यक ठानेको छैन ।

अग्निप्रसाद सापकोटा, सभामुख

उपसभामुख हुँदा काम गर्न सहज हुन्थ्यो । दुईजनाबीच छलफल हुन्थ्यो । सदन चलाउन सहयोग हुन्थ्यो । अहिले त सदन चल्दा लामो समयसम्म एक्लै बस्नुपरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आधाभन्दा बढी कार्यकाल उपसभामुखविनै सकिने अवस्था देखिएको छ । प्रतिनिधिसभा कार्यकाल अब एक वर्ष मात्रै बाँकी छ, तर उपसभामुखको खोजी कुनै पनि राजनीतिक दलको प्रमुख कार्यसूचीमा छैन । राजनीतिक दलहरूबीच सहमति नभएसम्म उपसभामुख चयन प्रक्रिया अगाडि बढाउन सम्भव हुँदैन । 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दुई वर्षअघि ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन । विपक्षीमा हुन्जेल उपसभामुख चयन गर्न दबाब दिँदै आएको कांग्रेसले सत्तारूढ भएपछि यो मुद्दा प्राथमिकतामा राखेको छैन । सत्तापक्षबाट प्रतिपक्षमा गएको एमालेले त ताजा जनादेश आफूहरूको प्रमुख मुद्दा रहेको भन्दै उपसभामुख चयनको विषयमा छलफल नै गर्नसमेत आवश्यक ठानेको छैन । 

राष्ट्रिय सभाको चुनाव संयुक्त रूपमा लड्ने घोषणा गरेको सत्तागठबन्धनभित्र उपसभामुख चयनको विषय प्रवेश नै भएको छैन । आवश्यक भए पनि अहिले उपसभामुख चयनको विषयमा दलहरूबीच छलफल नभएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् । ‘हामीले पहिला पनि उपसभामुख राखौँ भनेर जोड दिएको हो । यति लामो समय खाली राख्नै नमिल्ने हो । संविधानकै कार्यान्वयन गर्नसमेत उपसभामुख ल्याउनुपर्छ । तर, यस विषयमा अहिले छलफल अघि बढेको छैन,’ भुसालले भनिन् ।

विशाल भट्टराई, प्रमुख सचेतक, एमाले

हामीले त चुनावमै जानुपर्छ भनेको हो । तर, अरू दलले मानिरहेका छैनन् । सरकार वा अरू निकायका कुनै पदमा हाम्रो माग छैन । जहाँ जे पदपूर्ति गर्नुपर्ने हो, गठबन्धनबाटै होस् । हामी पदबाहिर बसेर जनमत निर्माणमा लाग्छौँ ।
 

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान
संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ । सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रबाट आएका हुन् । त्यसकारण एमाले, कांग्रेस, जसपा वा जनमोर्चामध्ये कुनै एक दलले दाबी गर्न पाउँछन् । तर, आफूमध्येकै दलको हक लाग्ने भए पनि कसैले रणनीतिक प्रयास गरेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उपसभामुखभन्दा आफूहरूको माग चुनाव रहेको बताए । ‘हामीले त चुनावमै जानुपर्छ भनेको हो । तर, अरू दलले मानिरहेका छैनन् । सरकार वा अरू निकायका कुनै पदमा हाम्रो माग छैन । जहाँ जे पदपूर्ति गर्नुपर्ने हो, गठबन्धनबाटै होस् । हामी पदबाहिर बसेर जनमत निर्माणमा लाग्छौँ ।’

सदनको नेतृत्वकर्ता सभामुख हुने भए पनि उपसभामुखको महत्व छ । उपसभामुख पद रित्तो हुँदा सदनदेखि संवैधानिक परिषद्सम्म असर पर्छ । संविधानले समेत सभामुख र उपसभामुखको आवश्यकता देखाएको छ । 

संविधानको धारा ९१ (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्ने व्यवस्था गरेको छ । संविधानको सोही प्रावधान अहिले सान्दर्भिक त छैन, तर त्यसले सभामुखसँगै उपसभामुखको पनि महत्वबोध गराएको छ । 

सभामुख एक्लैले सुरुदेखि अन्त्यसम्म सदन चलाउन कठिन हुने भएकाले पनि उपसभामुख पद आवश्यक भएको हो । सभामुख सापकोटाले समेत उपसभामुख हुँदा काम गर्न सहज हुने बताइरहेका छन् ।

पुष्पा भुसाल, सचेतक, कांग्रेस

हामीले पहिला पनि उपसभामुख राखौँ भनेर जोड दिएको हो । यति लामो समय खाली राख्नै नमिल्ने हो । संविधानकै कार्यान्वयन गर्नसमेत उपसभामुख ल्याउनुपर्छ । तर, यस विषयमा अहिले छलफल अघि बढेको छैन ।
 

उनले केही समय पहिले (६ साउन ०७७) सिंहदरबारस्थित अन्तरपार्टी महिला सञ्जालको एक कार्यक्रममै भनेका थिए, ‘उपसभामुख हुँदा काम गर्न सहज हुन्थ्यो । दुईजनाबीच त्यहाँ छलफल हुन्थ्यो । सदन चलाउन सहयोग हुन्थ्यो । अहिले त सदन चल्दा लामो समयसम्म एक्लै बस्नुपरेको छ ।’

संवैधानिक परिषदमा उपसभामुखविनै निर्णय 
उपसभामुख नहुँदा प्रभाव पर्ने अर्को ठाउँ हो, संवैधानिक परिषद् । उपसभामुख संवैधानिक परिषद्को सदस्य पनि हुने संवैधानिक व्यवस्था छ । तुम्बाहाङ्फेले राजीनामा दिएपछि संवैधानिक परिषद्मा उपसभामुखविनै निर्णयहरू भइरहेका छन् ।

सभामुखले आफ्नो सहयोगका लागि बैठकको अध्यक्षता गर्ने सदस्यहरू मनोनयन गर्छन् । हरेक अधिवेशनको सुरुकै बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने व्यक्तिको नाम सदनमा पढेर सुनाउने गरिन्छ । सभामुख सापकोटाले दशौँ अधिवेशनमा अमृतादेवी अग्रहरी, चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, लालबाबु पण्डित, सत्य पहाडी र सरलाकुमारी यादवलाई मनोनयन गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम १० ले अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्न सकिने व्यवस्था गरेको छ । नियम १० (१) मा छ, ‘सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा सातजना सदस्यलाई मनोनीत गर्न सक्नेछ ।’

See More On

सुझावित समाचार