गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०७४ संशाेधन गर्दै हाल रहेको ११ मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने निर्णय गरेको हो।
प्रदेशका एक मन्त्रीका अनुसार बैठकले हाल मुख्यमन्त्री कार्यालयमातहत रहेको आन्तरिक मामिला मन्त्रालयलाई बेग्लै मन्त्रालय बनाउने निर्णय गरेको हो। सो निर्णय राजपत्रमा प्रकाशित गरेपछि मात्र मन्त्रालयको संख्या औपचारिक रूपमा ११ बाट १२ हुनेछ। गण्डकीमा सुरुमा सात मन्त्रालय थिए।
ती मन्त्रीका अनुसार २५ असोजमा नियुक्त भएका विनाविभागीय मन्त्री दोबाटे विश्वकर्मालाई थपिएको नयाँ मन्त्रालयको जिम्मा दिने तयारी मुख्यमन्त्रीको छ। बैठकको निर्णय राजपत्रमा मंगलबार प्रकाशित भए मंगलबारै नभए बुधबार विश्वकर्माले नयाँ मन्त्रालयको जिम्मा पाउने ती मन्त्रीले बताए।
मन्त्री विश्वकर्माका स्वकीय सचिव देव रसाइलीका अनुसार मुख्यमन्त्रीले आन्तरिक मामिला मन्त्रालयको जिम्मा दिने जानकारी दिएको र राजपत्रमा सूचना प्रकाशित भएपछि औपचारिक रूपमा पत्र दिने जानकारी आएको बताए।