रुकुम पश्चिमका ७३ वडामध्ये अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको वडा हो आठबिसकोट– १ । यस वडामा सडक पुर्याउनका लागि हेलिकोप्टरमार्फत डोजर ओसारिँदै छ । नगरपालिकाले नगरभरमा सडक सञ्जाल विस्तार गर्ने योजनाअनुसार डोजरलाई खोलेर टुक्राटुक्रा बनाएर हेलिकोप्टरमार्फत चैतिखारासम्म डोजर पुर्याउन लागेको हो ।
यसका लागि ४५ लाख खर्च लाग्ने नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारबाट सडक निर्माणका लागि आएको ५० लाख रकमबाट हेलिकोप्टरमा डोजर बोक्न लागिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । नगरपालिकाले प्रतिघन्टा सात हजार अमेरिकी डलरमा हेलिकोप्टर भाडामा लिएको पनि केसीले बताए । डोजर ओसार्ने काम शुक्रबार सकिने पनि उनले बताए । करिब ६ खेपमा डोजर ओसार्ने र यसका लागि दुई घन्टाजति समय लाग्ने अनुमान छ । हेलिकोप्टर बिहीबार खदी गाउँमा पुगिसकेको छ ।
कसरी जोडिँदै छ वडा नम्बर १ सडक सञ्जालमा
नगरपालिकाका १४ वटा वडामध्येमा अहिले १३ वडामा सडक सञ्जालको पहुँच पुगेको छ । सबैभन्दा विकट वडाका रूपमा रहेका वडा नम्बर १, २ र ३ मध्ये २ र ३ नम्बर वडासम्म सडकमार्ग यसअघि नै पुगिसकेको छ । अव वडा नम्बर १ मा सडक जोड्नका लागि करिब ४० किलोमिटर सडक खन्न बाँकी छ । अहिले वडा नम्बर २ को स्याला गाउँबाट वडा नम्बर १ तर्फ सडक खन्ने गरी ठेक्का लागिसकेको छ । करिब ६ करोडको ठेक्कामा काम हुन लागेको नगर प्रमुख केसीले बताए । अब डोजर चैतिखारा पुगेपछि दुवैतर्फबाट सडक खन्न सुरु हुनेछ । उनका अनुसार दुवै ठाउँबाट सडक खन्ने साइकुमारीमा भेटिने गरी काम हुन लागेको छ ।
वडा नम्बर २ को स्याला गाउँबाट खनिने सडक साइकुमारीमा पुग्नेछ भने हेलिकोप्टरमार्फत पुर्याएको डोजरले वडा नम्बर १ को चैतिखारादेखि डाँडागाउँ, रोकाजा हुँदै साइकुमारी मन्दिरसम्मको करिब १५ किलोमिटर सडक खन्नेछ । दुवैतर्फबाट खन्न थालिएको सडक साइकुमारीमा पुग्यो भने वडा नम्बर १ सडक सञ्जालमा जोडिनेछ । छिटो काम सक्नका लागि दुवैतर्फबाट सडक खन्न लागिएको नगर प्रमुख केसीले बताए । ‘यही कार्यकालमा सबै वडामा सडक सञ्जाल विस्तार गरिसक्छौँ भनेर हामीले प्रतिबद्धता गरेका थियौँ,’ उनले भने, ‘जसअनुसार धमाधम सडक निर्माणका कामहरू भए, अब वडा नम्बर १ मा मात्र सडक पुग्न बाँकी छ, उक्त वडामा पनि छिटोभन्दा छिटो सडक पुर्याउनका लागि दुवैतर्फबाट सडक निर्माण सुरु हुँदै छ, दुवैतर्फबाट सडक खन्नका लागि हेलिकोप्टरमार्फत डोजर ओसार्न लागिएको हो ।’
यसअघि पहिलोपटक ०६४ सालमा सिंगो रुकुम हुँदा गाउँगाउँमा सडक निर्माणका लागि सल्ले विमानस्थलबाट हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिएको थियो । जिल्ला सदरमुकाममा मात्र मुस्किलले सडक पुगेको अवस्थामा गाउँगाउँमा सडक पुर्याउनका लागि तत्कालीन शान्ति तथा पुनर्निर्माणमन्त्री तथा हालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा हेलिकोप्टरमार्फत गाउँगाउँमा डोजर ढुवानी गरिएको थियो । शान्ति स्थापनापछि रुकुममा सडक निर्माणको काम तीव्र गतिमा अगाडि बढेको थियो ।