माओवादी केन्द्रको प्रदेश २ अधिवेशन २५ मंसिरमा जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र अगाडि बढ्न सकेको छैन । प्रदेश २ भित्रका ३६ स्थानीय तहमा विवाद समाधान नभएकाले बन्दसत्र अगाडि बढ्न नसकेको हो । विवाद समाधानपछि आगामी ३ पुसमा सर्लाहीको लालबन्दी बन्दसत्र गर्ने भनिएको छ ।
प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये सयवटामा मात्र अधिवेशन सम्पन्न भएको प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार सप्तरीमा १८ मध्ये १५ स्थानीय तहमा अधिवेशन हुन सकेको छैन । महोत्तरीका चार, सिराहाका पाँच र सर्लाहीका एक स्थानीय तहमा नेतृत्वको विवाद भएकाले अधिवेशन हुन सकेको छैन ।
प्रदेश २ मा दुई सय ७१ सदस्यीय कमिटी बन्ने
माओवादीले पार्टी सक्रिय सदस्यताका अधारमा प्रदेश कमिटी संख्याको निर्धारण गरेको छ । प्रदेश २ मा माओवादीको करिब एक लाख ५० हजार सक्रिय सदस्य रहेकाले नौ पदाधिकारीसहित दुई सय ७१ सदस्यीय कमिटी निर्धारण गरिएको प्रदेश अध्यक्ष बुढाथोकीले बताए । कार्यसमितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव, एक कोषाध्यक्ष र बाँकी सदस्य रहने उनले जानकारी दिए । त्यसैगरी, पार्टीको विधानअनुसार प्रत्येक दुई सय सक्रिय सदस्यमा एकजना प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने प्रावधान छ । माओवादी नेता झल्कु यादवका अनुसार प्रदेश अधिवेशनमा सात सय ३५ प्रतिनिधि, ८४ मनोनीत प्रतिनिधि र एक सय आठसदस्यीय आयोजक कमिटी अधिवेशनको बन्दसत्रमा सहभागी हुनेछन् ।
बन्दसत्र प्रभावित भएसँगै प्रदेशको आगामी नेतृत्व पनि अन्योलमै छ । थुप्रै आकांक्षी भए पनि अहिलेसम्म कसैले उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । माओवादीले हालै विधानमा एक व्यक्ति, एक पदको प्रावधान राखेकाले कुनै पनि नेताले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरेका हुन् । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामकुमार शर्मा, वर्तमान अध्यक्ष प्रह्लाद बुढाथोकी, सचिव श्रवण बरबरिया, प्रदेश सांसद दिलीप साहलगायत आकांक्षी छन् ।’
पदाधिकारीविनै सुदूरपश्चिम प्रदेश कमिटी घोषणा
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनले दुई सय ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । चार दिनसम्म सहमतिको प्रयास सफल हुन नसकेपछि अध्यक्षलगायत पदाधिकारीविनै कमिटी घोषणा गरिएको हो । प्रदेश कमिटीमा चुनिएका सदस्यहरूले पदाधिकारीको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । पदाधिकारी र सदस्यमा सहमति हुन नसकेपछि दुई दिनका लागि तोकिएको सम्मेलन चार दिनसम्म लम्बिएको थियो ।