निजी जग्गा भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन

अनुमति नै नलिई ढुंगामाटो बिक्री भइरहँदा पनि स्थानीय सरकार मौन

मंगलबार, १४ मंसिर, २०७८
डिजिटल संस्करण

चुरेसँग जोडिएका झापाका विभिन्न क्षेत्रमा व्यक्तिगत जमिन खेतीयोग्य बनाउन सम्याउने नाममा धमाधम अवैध उत्खनन भइरहेको छ । चुरेको पहिरो पसेका वा बगर बनेका जमिन किनी तिनलाई खेतीयोग्य बनाउने नाममा चुरे क्षेत्रसम्मै प्राकृतिक स्रोतसाधनको दोहन गर्ने क्रम बढ्न थालेको हो । स्थानीयका अनुसार दमकका टेकनाथ पोखरेलले दमक नगरपालिका– ३ स्थित ढुंगेमा रहेको दुई बिघा जमिन सम्याउने नाममा चुरेक्षेत्रको उत्खनन गरिरहेका छन् । पोखरेलले उत्खनन गरेको ढुंगे चुरे क्षेत्र पर्छ । यो क्षेत्रसँग इलाम चुलाचुली– ५ जोडिएको छ । पोखरेलले निजी जग्गामा अवैध उत्खनन गरेपछि चुलाचुली गाउँपालिकाका स्थानीयले पनि निजी जग्गामा अवैध उत्खनन गरेर माटो बेच्न सुरु गरेका छन् । पोखरेलले उत्खनन गरेको ठाउँभन्दा केही उत्तर चुलाचुली– ५ इमानेटारका कपिल पाण्डेले पनि वातावरणीय प्रभाव परीक्षणविनै धमाधम उत्खनन गरेर माटो बेचिरहेका छन् । जग्गा भिरालो भएकाले आफूले सम्याएको पाण्डेले दाबी गरे ।

पोखरेलले भने गत वर्ष दुई बिघा जमिन सम्याई खेतीयोग्य बनाउन भन्दै नगरपालिकाबाट स्वीकृति लिएका थिए । जमिन सम्याउने क्रममा निक्लने ढुंगा तथा गिट्टी बेच्नका लागि नगरपालिकालाई तीन लाख राजस्व पनि तिरेका थिए । स्थानीय भन्छन्, ‘तर, उनको नियत खेतीयोग्य जमिन बनाउने नभई चुरेक्षेत्रमा अवैध उत्खनन गर्नेरहेछ । एक वर्षयता त्यहाँबाट ढुंगा तथा गिट्टी निकाल्दै धमाधम बिक्री गरिरहेका छन् ।’ 

पोखरेलले यसपटक चुरे क्षेत्रमै ११ कट्ठा जमिन उत्खनन गर्नुपर्ने भन्दै दमक नगरपालिकामा अर्को निवेदन हालेका छन् । उनको निवेदन अहिलेसम्म स्वीकृत भएको छैन । तर, उनी निजी खेत भन्दै धमाधम ढुंगा तथा गिट्टी उत्खनन गरिरहेका छन् । एक स्थानीयले भने, ‘उनको खेतनजिकै मावाखोला छ । पाँच सय मिटरआसपास मावाको बाँध र बेल्डाँगी खानेपानी आयोजना पनि छ । तर, उनी निजी भन्दै चुरेक्षेत्रको अवैध उत्खनन गरिरहेका छन् । खेतीयोग्य जमिन बनाउन सम्याउने बहाना बनाएर नगरपालिकामा निवेदन हाले पनि उनको नियत भने उत्खनन कै देखिन्छ । किन पनि भने विगतमा खोला बगेको उक्त जग्गा किनेर उनले क्रसर खोल्ने तयारी पनि गरेका थिए ।’ 

तर, पोखरेल भने आफूले चुरेक्षेत्रमा उत्खनन नगरेको दाबी गर्छन् । ‘क्रसर खोल्न भनेर जग्गा किनेको साँचो हो । तर, चुरे क्षेत्रमा क्रसर खोल्न मिल्दैन भन्ने सुनेपछि अहिले आफ्नो जमिन सम्याएको हुँ, अवैध काम गरेको छैन,’ उनले नयाँ पत्रिकासँग भने । 

अनुमति सकिएपछि पनि उत्खनन
पोखरेलले नगरपालिकाबाट लिएको स्वीकृतिको अवधि समाप्त भइसकेको छ । अहिले पनि उनी निरन्तर चुरेक्षेत्रमा पार्ने जग्गा उत्खनन गर्दै आएका छन् । उत्खननले खोला गाउँमा पस्न सक्ने स्थानीयको चिन्ता छ । पोखरेलले खेत सम्याउनेभन्दा पनि ढुंगा बेच्ने नियत राखेको स्थानीय बताउँछन् । ‘नगरपालिकाबाट स्वीकृति ढिलो आउँछ । काम गर्न पाइँदैन । त्यही भएर अहिले ढुंगाचाहिँ चाल्दै छु,’ पोखरेलले भने, ‘बेच्नेचाहिँ नगरपालिकाबाट स्वीकृति आएपछि मात्र हो । ढुंगा निकाल्दै गर्दा त केही हुँदैन होला भनेर हो ।’ पोखरेलले एउटा डोजर नियमित उत्खनन स्थलमा राखेका छन् । गत वर्षामा पनि उनले निरन्तर ढुंगा बेचेका थिए । 
गत वर्ष उनले गरेको उत्खननमा शंका गर्ने ठाउँ रहेको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीले बताए । यसपटक नगरप्रमुख रोमनाथ ओलीलाई स्थलगत अनुगमनमा लगेर मात्र स्वीकृति दिने तयारी रहेको उनले बताए । निवेदन आए पनि स्वीकृत नभएको उनको भनाइ छ । दमक नगरपालिका प्रमुख ओलीले पनि पोखरेललाई यस वर्ष उत्खननको स्वीकृति दिइनसकेको बताउँदै अनुगमन गरेर उत्खनन तत्काल रोक्ने बताए । 

ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डको दफा १६ अनुसार निजी जग्गा नै भए पनि सम्याउने नाममा खनजोत गरी निकालिएको माटो तथा ढुंगा व्यावसायिक रूपले बिक्री गर्न पाइँदैन । बिक्री गर्नुपर्ने भए स्थानीय तहले स्वीकृत दिनुपर्छ । तर, झापामा अहिले चलिरहेका यस्ता धन्दामा मापदण्डको ठाडो उल्लंघन भइरहेको छ । चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार कार्यपालिकाबाट निर्णय भएपछि वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उत्खनन गर्न पाइन्छ । तर, पाण्डेलगायतले हालसम्म गाउँपालिकाबाट स्वीकृति पाएका छैनन् । यद्यपि, चुलाचुली– ५ का वडाध्यक्ष चन्द्र थापाले भने अधिकार क्षेत्र मिचेर पाण्डेलाई स्वीकृत दिएका छन् । थापाले वडामा ५० हजार राजस्व जम्मा गराएर स्वीकृति दिइएको बताए । तर, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने वडाध्यक्षले मात्र स्वीकृति दिन नमिल्ने बताए । ‘कार्यपालिकाबाट निर्णय भएपछि मात्र स्वीकृति दिन सकिन्छ । अन्यथा उत्खनन गर्न पाइँदैन । त्यो तत्काल रोक लगाउँछौँ,’ उनले भने, ‘यो आर्थिक वर्षमा कार्यपालिकाले कसैलाई पनि खेत सम्याउन स्वीकृति दिएको छैन ।’

सुझावित समाचार