नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिसिडी र तरलतालाई तुलना गर्न नहुने बताएका छन्। नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकाले तरलताको समस्या देखिएको भन्दै सिसिडी र तरलतालाई तुलना गर्न नहुने उल्लेख गरे।
‘अहिले कार्यान्वयनमा ल्याइएको सिडी रेसियोसम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज मानेका छन्। अहिले केहीलाई असहजता भए पनि अधिकांश प्रणालीका लागि राम्रो हो। हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौँ, यसलाई सबैले बुझ्न आवश्यक छ,’ उनले भने, ‘समग्र आर्थिक प्रणाली जोगाउन राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको छ। अहिले तरलताको समस्या देखिएको छ। यसको समाधानका लागि राष्ट्र बैंकले प्रयास गरिरहेको छ।’
गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको उल्लेख गर्दै नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको दाबी गरे। अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको उनले बताए। यसरी चाप पर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको उनले जानकारी दिए।