पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका– ६ वीरपुर खण्डमा शुक्रबार बिहान मोटरसाइकललाई ठक्कर दिँदै सडकमुनि ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएकी वद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स. १ त ६२५६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा. ९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि उक्त ट्याक्टर सडकदेखि करिब पाँच मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी सिराहा नरहा गाउँपालिका ३ पानबारीकी ६५ वर्षीया काखी यादवको मृत्यु भएको हो। शरीरका विभिन्न भागमा चोट लागेर घाइते अवस्थामा छिन्नमस्ता अस्पताल भर्ना गरिएकी उनको उपचारकै क्रममा मृत्यु भएको सप्तरी प्रहरीका सूचना अधिकारी तथा डिएसपी माधवराज काफ्लेले जानकारी दिए। मृतक यादवको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको डिएसपी काफ्लेले बताए।
कात्तिक पूर्णिमा स्नानका लागि ट्याक्टर चढेर हिँडेका नरहा– ३ की ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीय श्याम यादव, गोलबजार नगरपालिका चोहर्वाका १० वर्षीय पप्पु यादव, ३२ वर्षीया संगिया यादव, ४३ की सुशीला यादव, ४ वर्षीय सिद्धान्त यादव घाइते भएका छन्। ट्याक्टर पल्टिएपछि चालक तत्काल फरार भएकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक झापाको हल्दिबारी गाउँपालिका – ५ कंचनश्री घर भएका करिब ४९ वर्षीय नरेन्द्र पराजुलीसहित अन्य घाइतेको कल्याणपुरस्थित युनिभर्सल अस्पताल र राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।